पार्टीभित्रका दक्षिणपन्थी र विसर्जनवादी अलग भए : बादल

 भदौ ३१, २०७८ बिहिबार १९:३५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले पार्टीको अन्तरसङ्घर्षबाट पार्टीभित्रका दक्षिणपन्थी र विर्सजनवादीहरू अलग भएको टिप्पणी गर्नुभएको छ ।

आज बिहीवार काठमाण्डाै जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य थापाले पार्टीको अन्तरसङ्घर्षका क्रममा पुँजीवादी धारा हाबी भएको उल्लेख गर्दै पुँजीवादी र दक्षिणपन्थीहरूको सहकार्यले पार्टीको तथा सरकारको नेतृत्वलाई अपदस्थ गर्न सफल भएको बताउनुभयो । उहाँले त्याे धारा पार्टीबाट अलग भएको पनि बताउनुभयो ।

स्थायी कमिटी सदस्य थापाले षड्यन्त्रपूर्वक कम्युनिस्ट पार्टीको नेतृत्वलाई विस्थापित गरिएको भन्दै आउँदा दिनमा एमालेले राजकीय सत्तामा आफूलाई पुनर्स्थापित गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले यहाँसम्म आइपुग्दा पार्टीभित्रको अन्तरसङ्घर्षमा पार्टीभित्रको दक्षिणपन्थी र विर्सजनवादी धारा पार्टीबाट अलग भएको छ र समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय प्राप्त गर्न सफल भएको छ । राजनीतिक सत्तामा षड्यन्त्रपूर्वक ढङ्गले अहिले कम्युनिस्ट पार्टीको नेतृत्वलाई विस्थापित गरिएको छ । तर हामीलाई विश्वास छ, यो एउटा षड्यन्त्र हो । एउटा यो राजनीतिक प्रतिगमन हो । यो एउटा प्रतिक्रान्ति हो । हामी यो प्रतिक्रान्तिलाई, यो पश्चगमनलाई परास्त गर्नेर्छौँ । नेकपा एमालेको नेतृत्वमा आउँदा दिनमा वर्ग सङ्घर्ष राजकीय सत्तामा, कम्युनिस्ट पार्टीको नेतृत्वलाई पुनर्स्थापित गर्ने दिशामा हामी अगाडि बढ्ने छौँ ।’

स्थायी कमिटी सदस्य थापाले नेकपा एमाले कम्युनिस्ट पार्टीको मात्र नभइ लोकतान्त्रिक र समाजवादी आन्दोलनको मूल प्रवाह भएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया