पाँच महिनापछि खुले म्याग्दीका विद्यालय, तातोपानी कुण्ड र धार्मिक क्षेत्र

 असोज १, २०७८ शुक्रबार १३:२८:२१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – कोरोना भाइरस सङ्क्रमणका कारण गएको पाँच महिनादेखि बन्द म्याग्दीका विद्यालय, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र आज शुक्रवारदेखि खुलेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) म्याग्दीको निर्णयअनुसार शैक्षिक संस्था, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र खुला गरिएको हो । 

सरकारले ल्याएको कोभिड–१९ सम्बन्धी सुक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार विद्यालय खुलाउने निर्णय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । म्याग्दीमा कोरोना सङ्क्रमण दर घटेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरी विद्यालय खुला गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

डीसीसीएमसी बैठकको निर्णयअनुसार म्याग्दीका सबै पालिकामा रहेका विद्यालय फेरि सञ्चालनमा आएका छन् । गएको वैशाख तेस्रो हप्तादेखि म्याग्दीका विद्यालय बन्द भएका थिए भने वैशाख २३ गतेदेखि लकडाउन गरिएको थियो । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ बिग्रिने र अनलाइन कक्षा सञ्चालन गरिए पनि प्रभावकारी नभएपछि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनासहित विद्यालय सञ्चालन गरिएको छ । 

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले विद्यालयको प्रतिबद्धता, स्मार्ट लकडाउनको कार्यविधि, वैकल्पिक शिक्षण सिकाइ कार्ययोजना र डीसीसीएमसीको निर्णयअनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर विद्यालय खुलाइएको बताउनुभयो । उहाँले अबदेखि गाउँमा पाँच जना, सहरमा आठ जना र व्यक्तिको घरमा एक जनालाई कोरोना सङ्क्रमण देखिएमा सिल गरिने बताउनुभयो । नगरपालिका क्षेत्रमा मात्रै ५६ वटा विद्यालय सञ्चालनमा रहेका छन् । 

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा सामुदायिक, संस्थागत, क्याम्पस, अनौपचारिक, धार्मिक र संस्कृत गरी दुई सय ६९ वटा शैक्षिक संस्था सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ । म्याग्दीमा सामुदायिकतर्फ दुई सय ३९, संस्थागततर्फ २३, क्याम्पस चार, अनौपचारिक, धार्मिक र संस्कृतका एक–एक वटा विद्यालय रहेको इकाइ प्रमुख दलबहादुर थापाले बताउनुभयो । 

यसैगरी म्याग्दीमा रहेका तातोपानीका कुण्ड पनि आजदेखि खुलेका छन् । कोरोना भाइरसका कारण गएको वैशाख दोस्रो हप्तादेखि बन्द कुण्डहरू डीसीसीएमसी बैठकको निर्णयअनुसार सञ्चालन गरिएको छ । तातोपानीका कुण्डको कुल क्षमताको आधारमा तत्कालका लागि ५० प्रतिशतलाई मात्र स्नान गर्ने गरी सञ्चालन गर्न अनुमति दिइएको प्रजिअ अधिकारीले बताउनुभयो । 

अहिले म्याग्दीभित्रका नागरिकलाई मात्रै तातोपानीका कुण्डमा प्रवेशको अनुमति दिइएको छ । कोरोनाविरुद्धको खोप लगाएको १० दिन नाघेका, ७२ घण्टाभित्रको पीसीआर तथा एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट भएका जिल्लावासीले तातोपानीका कुण्डमा पुगेर स्नान गर्न पाउने छन् । म्याग्दीमा तातोपानीका १४ वटा मुहान तथा कुण्ड रहेका छन् ।  

त्यस्तै आजदेखि म्याग्दीका मठमन्दिरलगायतका धार्मिक क्षेत्र पनि खुला गरिएको छ । गलेश्वर मन्दिर, पुलस्त्य पुलहाश्रम, जगन्नाथधाम, मालिका धुरीलगायत म्याग्दीका विभिन्न ठाउँमा रहेका धार्मिक क्षेत्र भक्तजन र धार्मिक पर्यटकका लागि खुलाइएको हो । कोरोना सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका धार्मिक क्षेत्र पनि स्वास्थ्य मापदण्डसहित धेरै भिडभाड नहुने गरी खुला गरिएको छ ।  

अहिले म्याग्दीमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६० रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीमा अहिलेसम्म २८ हजार तीन सय ६५ जनाले पूर्ण खोप लगाएका छन् भने धवलागिरि गाउँपालिकाको लक्षित समूह सबैले कोरोनाविरुद्धको खोप पाएका छन् । पछिल्लो तथ्याङ्कअनुसार म्याग्दीमा अहिलेसम्म तीन हजार दुई सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सङ्क्रमणका कारण २३ जनाको ज्यान गएको छ ।   

अन्तिम अपडेट: बैशाख ११, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया