लेखा समितिका सभापतिकाे राजीनामा माग्दै एमालेले भन्याे– ‘लाेकतन्त्रकाे सुन्दर पक्षकाे कदर गरियाेस्’

 असोज २४, २०७८ आइतबार १६:३३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ । 

सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद भरतकुमार शाह हुनुहुन्छ । आज आइतवार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासअनुसार पनि त्याे समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताउनुभएको हो । पूर्वसञ्चारमन्त्री समेत रहनुभएका सांसद बाँस्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्दै समितिका सभापति भरत शाहको राजीनामासमेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी लोकतान्त्रिक अभ्यासमा छौँ । यो हाम्रो प्रणाली मात्रै होइन, जीवन पद्धति पनि हो । हाम्रा परम्पराहरू, व्यवस्थाहरूको कारणले गर्दा पनि अरूलाई हाम्रा अभ्यासहरूको कारणले पनि अपवादबाहेक लेखा समितिको नेतृत्व सामान्यतयाः संसारभरि नै प्रतिपक्ष दलले गर्ने व्यवस्था छ । यस सम्बन्धमा म ध्यानाकर्षण मात्रै गराउन सक्छु सभापतिज्यूसँग व्यक्तिगतभन्दा पनि आफूले प्रणालीको कुरा उठाउन चाहेँ । म अनुरोध गर्न चाहन्छु, सन्देश दिन चाहन्छु– अहिलेको सत्ता पक्षलाई लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्ने कुरा । त्यसको अर्थ हाम्रो परम्परागत प्रणाली र मर्यादालाई नभत्काइयोस् भन्ने कुरा चाहन्छु ।’

एमालेका अर्का सांसद गौतमले सांसद बास्कोटाको भनाइप्रति ऐक्यबद्धता जनाउँदै संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने तर्क गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलको भूमिकालाई रचनात्मक बनाउन पनि सत्ता पक्षले सार्वजनिक लेखा समितिको सभापति लिइ राख्न नपाउने बताउनुभयो । 

यसबारेमा सभापति शाहले भने यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिनुभयो । उहाँले विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफसमेत दिनुभयो । सभापति शाहले आफू २०५६ सालदेखि संसदमा रहेको तर समितिका विगतका सभापतिहरूले राजीनामा नदिएको प्रसङ्ग उल्लेख गरेर त्यसरी नै अघि बढ्ने धारणा राख्नुभयो । सभापति शाहले विपक्षले त्याे कुरा उठाउनु धर्म भएको भन्दै त्यसले प्रजातन्त्र सुदृढ भएर जाने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म २०५६ सालबाट छु यहाँ । सायद राजीनामा गरेको मलाई थाहा छैन । मन्त्री भएपछि छोडेको तर राजीनामा गरेको थाहा छैन मलाई । तर सुन्दाखेरी सभापति विपक्षबाटै भएका छन् । यसबारे मलाई धेरै भन्नु छैन । यो विषयको उठान गर्नु विपक्षको धर्म हो । यसले प्रजातन्त्र सुदृढ हुन्छ । उहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।’

समितिका सभापति शाहले यस सम्बन्धमा संसदमा कुरा उठाउन पनि एमालेका सांसदद्वय बाँस्कोटा र गौतमलाई सुझाव दिनुभयो । उहाँले यस्ता विषयहरू उठाउनु विपक्षहरूकाे धर्म भएको टिप्पणी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया