हुवासिन सिमेन्टलाई बिजुली दिने स्विचिङ स्टेशन सञ्चालनमा

 असोज ३१, २०७८ आइतबार १४:५४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्विचिङ स्टेशन सञ्चालनमा आएको छ । मस्र्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्विचिङ स्टेशनलाई गएको शुक्रवार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । 

तनहुँमा रहेको तल्लो मर्स्याङ्दी विद्युत् गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेशनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । प्रसारण लाइनलाई स्विचिङ स्टेशनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइने छ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत् लिने छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैँको  बेलामा विद्युतको माग कम हुने मौका पारेर स्विचिङ स्टेशनलाई चार्ज गर्न अनुमति दिइएको बताउनुभयो । ‘अन्य समयमा मस्र्याङ्दी–स्यूचाटार १३२ केभी ट्रंक लाइन बन्द गने सक्ने अवस्था नै थिएन, त्यसैले दशैँको बेलामा मिलाएर चार्ज गर्न दियौँ र टीकाको दिन स्विचिङ स्टेशन चार्ज भयो’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत् जडान गर्न सक्ने छ ।’

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्विचिङ स्टेशन निर्माण गर्न गएको वर्ष सुरु गरेको थियो । कम्पनीले स्विचिङ स्टेशनबाट कारखानासम्म झन्ड १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२÷१० केभीको सबस्टेशन निर्माण गरेको छ । प्राधिकरणले स्विचिङ स्टेशन निर्माणको सुपरीवेक्षण गरेको थियो । 

कार्यकारी निर्देशक घिसिङका अनुसार, स्विचिङ स्टेशनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिने छन् । ‘स्विचिङ स्टेशनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा  खुल्न लागिरहेका उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको छ, साथै त्यहाँबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरिने छ’, उहाँले भन्नुभयो, ‘यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिसमेत विश्वसनीय हुनेछ ।’  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया