रक्षा मन्त्री रिजाल जङ्गी अड्डामा

 असोज ३१, २०७८ आइतबार १५:५०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले आज आइतवार जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नुका साथै विविध विषयबारे जानकारी लिनुभएको छ । 

रक्षा मन्त्री रिजाललाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डामा स्वागत गर्दै अहिलेसम्म नेपाली सेनालाई नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त भइरहेको निर्देशन तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गर्नुभएको थियो । 

प्रधान सेनापति महारथी शर्माले रक्षा मन्त्रीकाे सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकीकरण र पेसागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रक्षा मन्त्री रिजाललाई नेपाली सेनासम्बन्धी विविध पक्षमा केन्द्रित रही प्रस्तुतीकरण भएको थियो । 

प्रस्तुतीकरणपछि रक्षा मन्त्री रिजालले आफू यस पदमा नियुक्त भएकोमा गौरव महसुस गरेको बताउनुभएको थियो । उहाँले नेपाली सेनाले देशभित्र विपद् व्यवस्थापन र कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्य तथा देशबाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गर्नुभयाे । साथै उहाँले आफ्नो कार्यकालभरि राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रहने तथा नेपाली सेनाले प्राथमिकतामा राखेका कामकाे कार्यान्वयनमा स्राेतकाे सुनिश्चितताका लागि हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।  

कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यााल, रक्षा मन्त्रालयका प्रतिनिधि तथा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया