निगमकाे जहाजलाई घाममा सुकाएर निजी एअरलाइन्ससँग 'सेटिङ' गर्ने काम हुँदैन : मन्त्री आले

 कात्तिक ९, २०७८ मंगलबार १६:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँठगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताउनुभएको छ ।

मन्त्री आलेले विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

नेपाल पर्यटन बोर्डले आज मङ्गलवार आफ्नै स्वागतमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना पनि सार्वजनिक गर्नुभयो ।

मन्त्री आलेले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को कालो सूचीबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताउनुभयो । त्यसका लागि आफूले निगमकै कर्मचारी सङ्घ–सङ्गठनहरूको मागअनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको उहाँले स्पष्ट पार्नु भयो । अब निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान सञ्चालन गर्ने, पर्यटन प्रवर्द्धन हुने गरी उडान भर्ने लगायतका काम गर्ने मन्त्री आलेको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘नेपाल एअरलाइन्सको जहाजलाई घाममा सुकाएर प्राइभेट एअरलाइन्ससँग सेटिङ गरेर उसलाई रातारात करोडपति बनाउने अनि नेपाल एअरलाइन्सको ग्राउन्ड ल्यान्डिङ चाहिँ कुनै निजी कम्पनीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि दिने काम प्रेम आलेले गर्दैन । म त्यसमा छैन । म त्यो पनि विश्वास दिलाउन चाहन्छु । र म आएको २४ घण्टा नबित्दै नेपाल एअरलाइन्सको एक सय चार दिनदेखि लगाइएको तालाबन्दी खुलाएँ । त्यहाँका सङ्घ, सङ्गठन र युनियनका कर्मचारीहरूसँग वार्ता गरेर त्यो समस्या समाधान गरियो । उहाँहरूका माग के थियो भने– हामीलाई अध्यक्ष चाहियो । अध्यक्ष छिटो दिनुहाेस् भन्नुभयो । हिजो क्याबिनेटबाट हामीले अध्यक्ष नियुक्त गरेका छौँ । युवराज अधिकारी अध्यक्ष हुनुहुन्छ । अब छिट्टै निगमको बैठक बसेर थन्किएर बसेका दुई वटा जहाज पनि सञ्चालनमा ल्याउनेछौँ । नेपालमा पर्यटन भित्र्याउनका लागि आवश्यक कामहरू गरेर अघि बढ्नेछौँ ।’

मन्त्री आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताउनुभयो । कोभिड १९ का कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको पनि उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया