भक्तपुर विश्व सम्पदास्थल क्षेत्रभित्र रहेको विद्यालय परिसरमा प्राचीन भग्नावशेष फेला पर्यो

 कात्तिक ११, २०७८ बिहिबार ७:४९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - विश्व सम्पदा सूचीमा रहेको प्राचीन भक्तपुर राजदरबार क्षेत्रमा रहेको एक विद्यालय परिसरमा थप प्राचीन भग्नावशेष फेला परेको छ ।

भक्तपुर दरबार क्षेत्र, साकोथामा सञ्चालित विद्यार्थी निकेतन माध्यमिक विद्यालय परिसरमा वासुदेव प्रसाद जोशी स्मृति भवनको ठीक सामुन्ने चौरमा पानी ट्याङ्की बनाउन विद्यालय प्रशासनले झण्डै ७ फिट गहिरो खाडल खन्न लगाएको थियो । खाडलमा स्पष्टै रुपमा पुरातात्त्विक भग्नावशेष फेला परेपछि अहिले त्यहाँ पुरातात्त्विक अन्वेषणको नयाँ चुनौती थपिएको छ ।

इतिहासमा ९९ वटा चोकको वर्णन रहेको भक्तपुर राजदरबार क्षेत्रभित्र विगतमा विभिन्न कारणले थुप्रै ऐतिहासिक चोक तथा भवनहरु पुरिएको हुन सक्ने दाबी इतिहासकारहरुले गर्दै आएका थिए । वर्तमानमा त्यस क्षेत्रमा बढीमा १५ वटा जति मात्रै चोकहरु अस्तित्वमा रहेको पाइन्छ । भग्नावशेष फेला परेको ठाउँमा २००४ सालदेखि विद्यालय सञ्चालनमा रहेको प्रमाण पाइन्छ । तर विद्यालयका विभिन्न भवनहरु भने नयाँ बनेका छन् । 

फेला परेको भग्नावशेषमा ठूलाठूला पक्की इँटाहरु, ढुङ्गे फलकहरु साथै इँटा बिच्छ्याइएको सतह स्पष्ट देखिन्छ । फेला परेको पुरातात्त्विक अवशेषहरूको भक्तपुर नगरपालिकाका प्रमुख लगायत विभिन्न पदाधिकारी साथै सम्बन्धित विज्ञहरुले निरीक्षण गरिसकेका छन् । अब त्यस ठाउँमा थप उत्खनन र अनुसन्धान गराउनु पर्ने अवस्था आएको र त्यसका लागि नगरपालिकाले छिट्टै विज्ञहरुसित छलफल चलाउने तयारी गरेको बताइएको छ ।

प्राचीन भक्तपुर राजदरबार वरपरका क्षेत्रमा अझै पनि थुप्रै अत्यन्तै महत्त्वपूर्ण पुरातात्त्विक अवशेषहरु दबिएर रहेको हुनसक्ने भन्दै त्यस क्षेत्रमा व्यवस्थित रुपमा उत्खनन कार्य थालनी गर्नुपर्ने कुरामा पुरातत्वविद्हरुले जोड दिँदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Sadim Mj

    Oct. 28, 2021, 4:55 p.m.

    सर्वप्रथम संरक्षणका नाममा हुने तस्करी कारोबारबाट बचाऔं ।

  •  0 Reply

तपाईको प्रतिक्रिया