पूर्वमा चम्किएका राता बस

 भदौ २०, २०७५ बुधबार ९:२३:५ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – टाँडी २ मिक्लाजुङ गाउँपालिकाकी ५० वर्षीया विमला राई उर्लाबारीबाट विराटनगर आउँदा मे १ ख २५५४ नम्बरको नागरिक यातायातको रातो गाडीमा चढ्नुभयो । उहाँ चढेको ५ मिनेट नपुग्दै किसान चोकमा नपुग्दै उहाँलाई बान्ता हुन थाल्यो । उहाँले हतपत आफू बसेको सिटमाथि राखिएको कालो प्लाष्टिक निकाल्नुभयो ।

गाडीका सहयोगीले गाडीभित्रै रहेको ढक्कन सहितको डस्टबिनमा फोहोर फाल्न भने । गाडीमा यात्रा गर्दा राईलाई अरुबेला जस्तो समस्या भएन । हतारको बेला प्लाष्टिक खोज्नु परेन । झण्डै दुई घन्टाभित्रै विराटनगर आईपुगेकी राईले भन्नुभयो, ‘धन्न गाडी भित्रै प्लाष्टिक रहेछ र सजिलो भयो ।’

उहाँ जस्तै अर्की ४५ वर्षीया खुद्रा व्यापारी पंकज शाहले पनि रातो गाडीले साह्रै सहज भएको बताउनुभयो । उहाँको खुट्टामा चोट थियो । उहाँ अशक्त सिटमा आनन्दले बसेर विराटनगर आइपुग्नुभएको थियो ।

नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रा.लि.ले सञ्चालनमा ल्याएका अत्याधुनिक सुविधायुक्त रातो बस यात्रुको रोजाई बन्न थालेको छ । अरु बसभन्दा सहज र सजिलो हुने भएकाले आफू सधैं नागरिक बसमा नै यात्रा गर्ने गरेको विराटनगरकी दिपा राईले बताउनुभयो । अरु बस जस्तो जहाँ पायो त्यहाँ नरोक्ने, धेरै सुविधा अनि सुरक्षित हुने र सिसि क्यामाराको निगरानीमा हुने भएका कारण नागरिक बसमा नै यात्रा गर्न सहज हुने उहाँ बताउनुहुन्छ ।

नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रालिसँग अहिले १५ वटा रातो रंगका गाडी छन् । काकडभिट्टाबाट धरानका लागि ७ वटा र विराटनगरका लागि ७ वटा गाडी चल्ने गरेको प्रालिका सञ्चालक राजेन्द्र रिजालले जानकारी दिनुभयो ।

बसमा सबैभन्दा राम्रो पक्ष भनेको आफू कुन ठाउँमा झर्ने हो, त्यो ठाउँ गाडी भित्र भएको जीपीएस प्रविधिले थाहा दिने सञ्चालक रिजालले बताउनुभयो । नागरिक यातायातका यस्ता बसमा यात्रा गर्ने अशक्त र महिलाहरुलाई आरक्षण सिटको व्यवस्था छ । बालबालिका र अशक्त नागरिकलाई बस चढ्न सहज होस् भनेर बस सञ्चालनमा ल्याईएको नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रालिका प्रवन्धक रविन सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई परिचय पत्रका आधारमा सरकारले निर्धारण गरेको छुट सुविधा दिईएको छ । विद्यार्थीलाई सार्वजनिक बिदा बाहेक अन्य दिन ४५ प्रतिशत छुटको व्यावस्था गरिएको मे १ ख २५५४ नम्बरका परिचालक निलकण्ठ निरौलाले बताउनुभयो ।

जेष्ठ नागरिक र अपाङ्गगता भएका यात्रुलाई ५० प्रतिशत छुटको व्यावस्था गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अन्य गाडीमा जस्तो यात्रुहरुसँग भाडाको लागि झगडा र मोलमोलाई गरिराख्न नपर्ने, कम्पनीले तोेकेअनुसारको भाडा लिने हो यसले गर्दा यात्रुहरुसँग राम्रो सम्बन्ध स्थापित हुन्छ ।’

जीपीएसको सहयोगमा यात्रुहरुलाई बस रोकिने ठाउँ, आइपुग्न लागेको सूचना उपलब्ध हुने, यात्रुले आफ्नो स्मार्ट फोनमा नागरिक यातायातको एप्स डाउनलोड गरी कम्पनीको कुन बस कहाँ छ र कति बेला कुन ठाउँमा आइपुग्छ भन्ने जानकारी अनलाइनबाट प्राप्त गर्न सकिने नागरिक यातायातका बजार व्यापस्थापक प्रमुख किरण काफ्लेले जानकारी दिए ।

प्रालिले यात्रुको सुरक्षाका लागि हरेक बसमा सीसी क्यामेरा र मनोरञ्जनका लागि प्रत्येक बसमा टिभी जडान गरिएको छ । बसमा २५ देखि ३५ सम्मका फराकिला सिट तथा फोहोर फाल्नका लागि डस्टबिनको व्यवस्था, गाडीमा बान्ता आउनेहरुका लागि हरेक सिटमा प्लाष्टिकको झोला झुण्ड्यिाईएका हुन्छन् । यात्राका क्रममा यात्रुको ज्यान गए पाँच लाख रुपैयाँ र घाइतेका लागि तीन लाख रुपैयाँसम्मको बिमा समेत गरिएको संस्थापक रिजालले बताउनुभयो ।
 

नागरिक यातायात मात्र हैन, हिमशिखर, एरिना, जनता, सूर्योदय लगायतका एक दर्जन कम्पनीले पछिल्लो एक वर्षमा राता बस सञ्चालनमा ल्याएका छन् । सरकाले सिण्डिकेट खारेज गरेसँगै नयाँ कम्पनीहरुले पनि नयाँ बसहरु बिराटनगरमा थपेका छन् । राता बस जस्तै सगरमाथा यातायातको हरियो बसले पनि साझा यातायातको मोडेलमा सुविधा दिने गरेको छ ।


 

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • िनशेषा राइ

    Sept. 5, 2018, 1:37 p.m.

    म झापा बाट निशेष राई तपाईहरुको समाचार हेरेर मलाई निकै समय सान्दभि लाग्यो, तर म एक बिद्यार्थी हो । म पनि यात्रा गर्दा रातो अर्थात नागरीक गाडीमा नै यात्रा गर्छु तर कतिपय राता गाडीले हामि बिद्यार्थीलाई सरकारी ब्यवस्था अनुसार छुट गरिदिदैन । अन्य गाडीमा जस्तै हामिले झगडा गरेर यात्रा गर्नु पर्छ । त्यसैगरी कतिपय राता गाडीले सुबिधासम्पन्न हो भन्दै निकै मानिसलाई कोच्ने गरेको पनि छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया