अपहरणमा प्रयोग भएको कारसहित ८ अपहरणकारी पक्राउ

 भदौ २१, २०७५ बिहिबार १९:८:१५ | कपिल कोइराला

काभ्रे –भक्तपुरको सल्लाघारीबाट एक व्यक्तिलाई अपहरण गरेको आरोपमा ८ जना अपहरणकारीलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले पक्राउ गरेको छ । 

सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउपालिकाका  ४७ वर्षीय विष्णु कटुवाललाई अपहरण गर्ने ८ जनालाई इलाका प्रहरी कार्यालय बनेपा र पनौती चौकीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर १ का   २३ वर्षीय दिपक भुजेल, काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. १० बस्ने ४० वर्षीय राजन घोरासैनी, सर्लाही घर भई बनेपा बस्ने २६ वर्षीय कृष्णहरि अधिकारी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ५ घर भई सूर्यविनायक बस्ने २९ वर्षीय रामेश्वर सिलवाल, रामेछाप खाडादेवी गाउँपालिका वडा नं. १ बस्ने ३५ वर्षीय टेकबहादुर विक, काठमाडौं महानगरपालिका वडा नं. २८ बस्ने ४२ वर्षीय धननारायण तण्डुकार र सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ५ घर भई हाल मकवानपुर बस्ने २८ वर्षीय रन्जन सिलवाल र मकवानपुर पालुङ ७ बस्ने ४२ वर्षीय नकुल कार्की (गाडी चालक) पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिनुभयो ।

भक्तपुरको सल्लाघारीबाट अपरिचित व्यक्तिहरुले निलो रंगको ट्याक्सीमा राखी नालाको बाटो हुँदै काभ्रेतर्फ लिएर हिँडेको भन्ने जानकारीको आधारमा प्रहरीले उनीहरुलाई पिछा गरेको थियो । ‘एक व्यक्तिलाई केही व्यक्तिहरुले कारमा राखेर लैजाँदै छन् भन्ने सूचनाको आधारमा हामीले पिछा गर्‍यौँ, काभ्रेको चौकोटबाट उनीहरुले प्रयोग गरेको कार, मोटरसाइकल सहित ८ जना समात्यौँ’, इलाका पहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय बनेपाको इन्सपेक्टर  सुनिलजंग शाह र पनौती चौकीका प्रहरी नायव निरीक्षक शिवहरि कार्कीको टोलीले धुलिखेल न.पा–५ चौकोट बाट अपहरण गर्न प्रयोग गरिएको  बा ५ च ८७३५ नम्बरको प्राइभेट कार, बा ७८ प ५०५ नम्बरको मोटरसाइकल र बा ३४ प ५०० नम्बर स्कुटी सहित ८ जना पक्राउ परेको छ । 

पक्राउ परेका सबैलाई अनुसन्धानका लागि भक्तपुुर जिल्ला पठाउने खड्काले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया