चितवनमा अत्यावश्यक गाडी नरोकिने, लामो दूरीमा चल्ने बसलाई वैकल्पिक रुटको व्यवस्था

 मंसिर ९, २०७८ बिहिबार १२:६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन

काठमाण्डाै - नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन हुने दिन भोलि चितवनमा यात्रुलाई सहज हुने गरी ट्राफिक व्यवस्थापन मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।

नारायणगढ र भरतपुरका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक गाडी नरोकिने र अरु गाडीका लागि वैकल्पिक बाटोको व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट ओहोरदोहोर गर्ने बसलाई वैकल्पिक बाटोको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

पूर्वबाट चितवन हुँदै गुड्ने गाडीलाई बाइपास रोड खुला हुनेछ । पूर्वबाट काठमाण्डौ ओहोरदोहोर गर्ने गाडी भरतपुरको जिल्ला प्रशासन कार्यालय चोक, बाइपास–आँपटारी हुँदै चल्न पाउनेछन् । पूर्वबाट पश्चिम चल्ने  गाडीलाई प्रशासन कार्यालय चोकबाट दक्षिण बाटो हुँदै नारायणी पुलसम्मको वैकल्पिक बाटो तय गरिएको छ ।

पश्चिमबाट छुट्ने गाडी नवलपरासीतिर नारायणी पुलको नजिकबाट शिवघाट जाने बाटो हुँदै पूर्वतर्फ र काठमाण्डौ चल्न मिल्ने चितवन प्रशासनले जनाएको छ । त्यसैगरी पूर्वबाट पश्चिम चल्ने गाडी आँपटारी–बाइपास हुँदै जिल्ला प्रशासन कार्यालय चोकबाट घुमेर नारायणी पुलतर्फ जानु पर्नेछ ।

पूर्व–पश्चिम चल्ने यात्रुवाहक गाडी नारायणीको पुल हुँदै चल्न पाउने तर नारायणघाटको मुख्य बजारमा प्रवेश गर्न नपाउने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभएको छ । उहाँका अनुसार नारायणीको पुलमा अरु भीडभाड गर्न रोकिनेछ । त्यस्तै बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्र अत्यावश्यक बाहेकका गाडी प्रवेशमा रोक लगाइएको छ ।

भोलि शुक्रवार बिहान १० बजेदेखि बेलुकासम्म ती क्षेत्रमा गाडी छिर्न पाउने छैनन् । तर अत्यावश्यक एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, मृत्युसंस्कार लगायतका गाडी चल्नेछन् । यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

भोलि पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइनेछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया