एमाले महाधिवेशनको आकर्षण गैँडाको मस्कट

 मंसिर १०, २०७८ शुक्रबार १२:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – एमालेले आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनमा हँसिया हथौडा अङ्कित झण्डा बोकेको गैँडाको मस्कटले धेरैको ध्यान तानेको छ ।

महाधिवेशनको लोगोमै अङ्कित भएको गैँडाको मस्कटलाई मञ्चको दाहिनेतर्फ राखिएको छ । यसले महाधिवेशनमा आकर्षण त बढाएको छ नै साथै गैँडा संरक्षणमा लागेका संरक्षणकर्मीहरू ​पनि  खुशी छन्। 

एमालेले गैँडालाई मस्कटको रुपमा प्रयोग गर्दा गैँडा संरक्षणमा एकैपटक व्यापक सन्देश प्रवाह भएको संरक्षणकर्मीहरूको भनाइ छ। 

गैँडाको मस्कटले महाधिवेशनमा सहभागी धेरैको ध्यान खिचेको छ । सेल्फी र फोटो खिच्नेहरुको भीड नै देखिन्छ मस्कट राखेको ठाउँमा । भुइँमा ढुङ्गाको आकार निकालेर अबिर राखेर चुनाव चिह्न सूर्य बनाइएको छ। त्यसमाथि हँसिया हथौडा अङ्कित झण्डा बोकेको गैँडाको मस्कट छ । 

एमालेले कात्तिक २६ गते गैँडाको मस्कटसहितको लोगो सार्वजनिक गरेको थियो।  लोगोमा मस्कटले कम्युनिस्ट पार्टीको झण्डा बोकेको छ। कलाकार सूर्य मध्यरातको समूहले १० दिन लगाएर मस्कट बनाएका हुन्। मस्कटसँग सेल्फी र फोटो खिच्न बुधवारदेखि नै सहभागीको घुइँचो लागेको छ। 

‘एक सिङ्गे गैँडा’ पर्यटकीय नगरि चितवनको विशेषता मानिन्छ । पर्यटकहरु गैँडा हेर्नका लागि चितवन पुग्ने गर्छन् । विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडा संरक्षणमा नेपालले धेरै अघिदेखि अभियान नै चलाएको छ। पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ७ सय ५२ र  चितवनमा मात्रै ६ सय ४५ गैँडा रहेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया