बरालिएकाे एमालेलाई कांग्रेसले ठेगानमा ल्याउन सक्नुपर्छ : गगन थापा

 मंसिर १२, २०७८ आइतबार १४:३१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्द सत्र नभइ 'ओली सेसन' चलिरहेको बताउनुभएको छ । 

आज आइतवार नेपाली कांग्रेस काठमाण्डाै जिल्ला कार्यसमितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्द सत्र नभइ 'ओली सेसन' चलिरहेको बताउनुभएको हो । उहाँले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताउनुभयो ।

उहाँले नेकपा एमालेमा अब ‘जनवाद’ सकिएको र केपी शर्मा ओलीको ‘डनवाद’ सुरु भएको आरोप लगाउनुभयो । नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका काम हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्श पुरुष हुन सेन रहेको आरोप लगाउनुभयो । हुन सेनको विरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छाडेर बिदा हुनुपरेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लखेटिने बताउनुभयो ।

उहाँले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताउनुभयो । नेता थापाले १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाउनुभयो । उहाँले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नुपर्ने बताउनुभयो ।  

नेता थापाले भन्नुभयो, ‘हामीले के कुरा बुझ्नुपर्छ भने नेकपा एमालेले राष्ट्रिय राजनीतिमा लिने स्थान, उसले लिने राजनीतिक कार्यदिशाले नेपाली कांग्रेससँग धेरै ठूलो महत्त्व राख्छ । चितवन महाधिवेशनपछि आएको नेकपा एमालेले आफ्नोभित्रको जनवादलाई सकाएको मात्रै होइन, देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अघि बढेर आउँछ । बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली कांग्रेसले गर्न सक्नुपर्छ । नचाहिने कुरा गरेमा हप्काउने तागत कांग्रेसले राख्नुपर्छ । एमाले हाम्रो शत्रु होइन तर बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने काम कांग्रेसको हो । यो तागत नेपाली कांग्रेसले अबको अधिवेशनबाट ल्याउनुपर्छ ।’

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया