एमाले १०औँ महाधिवेशन : मतदान सकियो, गणना केही समयपछि

 मंसिर १४, २०७८ मंगलबार ११:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान सकिएको छ ।

बिहान ४ बजेदेखि सुरु भएको मतदान केहीबेर अघि सकिएको हो । चुनावमा दुई हजारभन्दा धेरै मत खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

केहीबेर पछि मत गणना गर्ने तयारी भएको छ । विद्युतीय भोटिङ मेसिनको प्रयोग भएकाले मत परिणाम छिट्टै आउने अपेक्षा गरिएको छ ।

चितवनको सौराहामा भइरहेको महाधिवेशनको बन्द सत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि चुनाव भएको हो । पार्टीको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् ।

६ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ । महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

यसैबीच, भीम रावललगायतका उम्मेदवारलाई भोट नदिनू भन्दै पर्चा वितरण गरेपछि रावल पक्षले त्यसलाई आचार संहिता विपरीत भएको भनेको छ । मतदानमा संस्थापन पक्षबाट कसलाई भोट हाल्ने/नहाल्ने सङ्केतसहितका पर्चा बाँडिनु निर्वाचन आयोगको आचारसंहिता विपरीतको कार्य भएको भन्दै रावलले आपत्ति जनाउनु भएको हो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया