सर्वोच्चमा आजदेखि गोला प्रथा, न्यायाधीशहरु ३७ दिनपछि इजलासमा फर्किँदै

 मंसिर १५, २०७८ बुधबार ८:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा अर्थात् गाेला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो ।

सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रक्रियाबाट पेसी तोक्नेसम्बन्धी निर्देशिका जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरुको इजलास गठन गरी मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशबाट कटौती गरेको हो । यसबाट पेसी व्यवस्थापनमा देखिएका विकृति र विसंगति कम हुने अनुमान गरिएको छ । गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भए पछि गएको कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू पनि इजलासमा फर्किँदै छन् । न्यायाधीशहरु ३७ दिनपछि इजलास फर्किन लागेका हुन् ।

सुरुमा न्यायाधीशहरूले गोला तानेर आफ्नो इजलासका लागि सहकर्मी न्यायाधीश छनोट गर्नेछन् । उपस्थित न्यायाधीशको संख्याका आधारमा इजलास टुंगो लागिसकेपछि इजलासले कुन मुद्दा हेर्ने भन्ने निर्धारण गर्न अर्को गोला तानिनेछ ।  यसरी पेसी तोक्दा कुन मुद्दा कुन न्यायाधीशको इजलासमा दिने भन्ने प्रधानन्यायाधीशको स्वविवेकीय अधिकारमा कटौती हुनेछ  । आज संवैधानिक इजलास, संयुक्त इजलास र एकल इजलास बस्ने दिन हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोराेना संक्रमित भएर अस्पताल भर्ना भएका कारण आज उहाँ अदालतमा अनुपस्थित हुनु हुनेछ ।  आज कायममुकायम प्रधानन्यायाधीशका रूपमा दीपककुमार कार्कीको नेतृत्वमा संवैधानिक इजलास बस्न सक्नेछ । तर, जबरा औपचारिक बिदामा नबसे आज संवैधानिक इजलास बस्ने छैन । एकल र संयुक्त इजलास मात्र बस्नेछ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया