कांग्रेस महाधिवेशन : प्रदेश समिति नेतृत्वको लागि आज चुनाव, कहाँ कस्तो प्रतिस्पर्धा ?

 मंसिर १८, २०७८ शनिबार ६:४६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि आज चुनाव हुँदैछ । प्रदेश-२ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश नेतृत्वको लागि विभिन्न समूहले आफ्नो अनुकूल हुने गरी सहकार्य गरेका छन् । संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । प्रदेश-१ मा संस्थापन पक्षलाई नेता कृष्णप्रसाद सिटौला समूहले सहयोग गरेको छ ।

सभापतिमा संस्थापन इतर समूहबाट गुरु घिमिरे र सिटाैला समूहबाट उद्धव थापाले उम्मेदवारी दिएका छन् । वाग्मती प्रदेशको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ ।

संस्थापन समूहबाट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका पूर्वसभापति जगदीश्वर नरसिंह केसी उम्मेदवार बनेका छन् । त्यस्तै नेता भीमसेनदास प्रधानले पनि प्रदेश सभापतिमा उम्मेदवारी दिनुभएको छ ।

गण्डकी प्रदेशमा संस्थापन समूहबाट प्रदेश सभापतिमा केन्द्रीय सदस्य अर्जुन जोशी र संस्थापन इतर समूहबाट शुक्रराज शर्माले उम्मेदवारी दिएका छन् । लुम्बिनी प्रदेश सभापतिका लागि सांसद भरत शाह र रोल्पा जिल्ला पूर्वसभापति अमरसिंह पुनबीच प्रतिस्पर्धा हुने भएको छ । शाह संस्थापन समूहका र पुन संस्थापन इतर समूहबाट प्रदेश सभापतिका उम्मेदवार बनेका हुन् ।

यस्तै कर्णाली प्रदेशको सभापतिका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि पक्षबाट एक/एक जना गरी तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । देउवा पक्षबाट ललितजङ्ग शाही, पौडेल पक्षबाट भूपेन्द्रजङ्ग शाही र निधि पक्षबाट मोतीराज बमले प्रदेश सभापतिमा मनोनयन दर्ता गरेका हुन् ।

सूदूरपश्चिम प्रदेशमा सभापतिको लागि संस्थापन समूहले केन्द्रीय सदस्य वीरबहादुर बलायर र संस्थापन इतर पक्षका नारायण मिश्रले उम्मेदवारी दिएका छन् । प्रदेश-२ का केही जिल्लामा भने प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न नहुँदा कार्यतालिका अनुसार प्रदेश अधिवेशन हुन नसेकेको हो ।

प्रदेश-२ मा बिहीवार अधिवेशन उद्घाटन भए पनि निर्वाचन प्रक्रिया सुरु भएको छैन । सप्तरी, महोत्तरी र सर्लाही जिल्लामा क्षेत्रीय अधिवेशन नै हुन नसकेका कारण निर्वाचन समितिले आफ्नो कामलाई अघि बढाउन नसकेको हो । कांग्रेसको प्रदेश अधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्रीको चयन हुनेछन् । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया