अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस : नेपालमा महिला स्वास्थ्य स्वयंसेविका दिवसका रूपमा मनाइँदै

 मंसिर १९, २०७८ आइतबार १२:१२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालमा भने १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ । त्यसअघि पनि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो । पारम्परिक चलन अनुसार अहिले पनि बाढी–पहिरो, भूकम्प, रोगको महामारी, आगलागी जस्ता प्राकृतिक तथा मानवीय विपत्तिमा स्वयंसेवकको ठूलो भूमिका रहँदै आएको छ ।

हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ । अहिले विश्वभर एक करोड ९ लाखभन्दा बढी स्वयंसेवक भएको अनुमान छ । यसमा पनि ६० प्रतिशत महिला स्वयंसेवक रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका रूपमा मनाउने गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड नै मानिन्छ । नेपालमा बालबालिका तथा मातृ मृत्यदर घट्नुमा महिला स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको युनिसेफले उल्लेख गरेको छ ।

अहिले ५१ हजारभन्दा धेरै महिला स्वास्थ्य स्वयंसेविका छन् । कोरोना महामारीका बेला पनि घर घरमा पुगेर उनीहरुले सेवा प्रदान गर्दै आएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाको परामर्शबाट कोरोनाविरुद्धको खोप लगाउने दरमा वृद्धि भएको स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक डा. गोमादेवी निरौलाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया