वाह ! किताब जिन्दगी !

 पुस १७, २०७८ शनिबार ८:५९:५८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै - धेरैजसाेकाे लागि किताब अँध्यारोबाट उज्यालोतर्फको यात्रा हो । ज्ञानको भण्डार हो । ज्ञानको प्यास मेटाउने अतृप्त साधन हो । 

तर, रामेछापका दीपकका लागि किताब के होइन ! उहाँको भोक, प्यास मेटाउने साधन हो । घरबार हो । जीवन जिउने प्रमुख आधार हो । कोठाभाडा हो । खाना हो । खाजा हो । लगाउने लुगा हो । हिँड्ने सहारा हो । सबैथोक हो। 

किताबसँग उहाँको लगाब हुन थालेको झण्डै एक दशक भयो । यसअघि उहाँको मन अन्यत्र नडुलेको होइन । तर, अन्त मन नबसेपछि उहाँ किताबको फन्दामा पर्नुभयो । 

एक प्रकारले भन्दा किताबसँगको प्रेममा पर्नुभयो । उहाँ स्वयम् अनभिज्ञ हुनुहुन्छ किताबसँगको यो सहकार्य कहिलेसम्म जारी रहन्छ । तर, जतिन्जेल जारी रहन्छ तबसम्म भने उहाँ किताबबाट टाढा हुने पक्षमा हुनुहुन्न । बाँकी किताबको जिम्मा । कहिलेसम्म उसले दीपकलाई माया गरिरहन्छ । 

सुरुका दिनमा रामेछापबाट काठमाण्डौ आउँदा यो सहरले उहाँलाई अत्यन्त बिरानो व्यवहार गर्यो । काठमाण्डौ खाल्डोको सामिप्यता पाउन उहाँले यो सहरमा चलेका के मात्र काम गर्नु भएन र ! 

यस खाल्डोमा जमेर रहेका रेष्टुरेण्ट, होटलदेखि अन्य फुटकर सबै काममा उहाँले हात नहाल्नु भएको होइन । तर, कसैले उहाँलाई आफन्ती नठानेपछि बाध्य भएर किताबको शरणमा पर्नु भएको हो । 

‘आफ्नो पनि बाहिरी किताब पढ्ने शौख थियो । काम खोज्ने क्रममा यही भेटियो’ उहाँ भन्नुहुन्छ ।  

किताबले उहाँलाई सहजै स्वीकार गर्यो । सामिप्यता दियो । आत्मीय बनायो । उहाँले पनि सहर्ष स्वीकार गर्नुभयो । र, रामेछापदेखि गुडेको जिन्दगीको गाडी बागबजार आएर रोकिएपछि अन्यत्र गएर रोकिनु परेको छैन । यात्रामा सहरका गल्ली चोकतिर दुई चार कोश हिँडे पनि अहिलेसम्मको गन्तव्य भने बागबजार नै रहेको छ उहाँको । 

उहाँ एक पटकमा झण्डै ३/४ सय किताब सडक/पेटीको छातिमा ल्याएर पसार्नुहुन्छ । अनि चुपचाप किताब हेरेर बस्नुहुन्छ । मुश्किलले फुट्छ उहाँको बोली । पाठकले किताबको मोल सोध्दा उत्तर दियो, बस त्यत्ति हो । अनि कसैले मोल घटाउन खोज्दा मिल्ने मोल आए ‘हुन्छ’ नत्र ‘हुँदैन’ । 

त्यति हो उहाँको मुखबाट फुट्ने बोली । त्यसमा पनि साह्रै मसिनो । कान मुखमा टाँसेर सुन्नुपर्ला जस्तो । सडकका घ्याइँघ्याइँ र घुइँघुइँले उहाँका मसिना आवाज त्यसै बिलाउँछन् । 

पाठक चिच्याएपछि बल्ल सुनिन्छ उहाँको बोली । यहाँ ‘बोल्नेको पिठो बिक्छ’ भन्नेहरुका लागि उहाँ विपरितार्थी हो । तर, पनि राम्रै चलेको छ उहाँको जिन्दगी । 

घामले डाँडा काटेपछि वा समय घर्के जस्तो लागेपछि उहाँ कालो ठूलो धोक्रे झोलामा किताब हालेर पसल बन्द गर्नुहुन्छ । मनमौजी तरिकाले । कसैको रोकतोक र हस्तक्षेप छैन । 

अनि ट्याक्सी बोलायो । झोला बोकायो । टाप बागबजार ! सहरभित्रको परिसरमा झण्डै ५ सय । अलि नजिक छ भने अझै कम । रात पर्न लाग्यो भने झण्डै डबल पनि । यस्तै छ काठमाण्डौ सहरको उहाँको किताबको ट्याक्सी भाडा।

उहाँको ‘किताब पसल’को कुनै स्थायित्व छैन । तर, धेरैजसाे भने भृकुटीमण्डपका सडक, पेटी नै उहाँका स्थायी ठेगाना जस्ता छन् । अरु बेला भने सहरमा हुने मेला, भेला र जात्रा । 

मेला, भेला र जात्रामा पनि अलि बौद्धिक जमघट भने उहाँ छुटाउनु हुन्न । लिटरेरी फेस्टिभल, राजनीतिक पार्टीका आमसभा, क्यान इन्फोटेक, विज्ञान प्रदर्शनी, शैक्षिक भेला जस्ता कार्यक्रम सधैँ उहाँका प्राथमिकतामा पर्छन् । 

हालै सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनमा उहाँले भृकुटीमण्डमपमा झण्डै ५० हजारको किताब बेच्नु भयो । 

महाधिवेशन पच्छ्याउँदै उहाँ कांग्रेसको केन्द्रीय कार्यालय तथा मतगणनास्थल सानेपासम्म आइपुग्नु भएको छ । तर, यहाँ भने तीन दिनमा केवल १० हजारका किताब बिकेका छन् उहाँको । 

‘किताबहरु कोही भने प्रकाशकले ल्याइदिने तथा कोही भने आफैँले लिन जानुपर्छ’ श्रेष्ठ भन्नुहुन्छ, ‘किताब हेरी १०–२५ प्रतिशत नाफा हुन्छ ।’ 

उहाँले सानेपामा भने पार्टीसँग सम्बन्धित किताबहरु लिएर आउनु भएको छ । उहाँसँग यहाँ झण्डै ३ सय किसिमका किताबहरु छन् । 

एकदिनमा २०–३० हजारको किताब बेचेको अनुभव छ उहाँको । त्यो पनि राजनीतिक पार्टीको आमसभामा । कम हुँदा ५–७ सय सम्मको व्यापार हुने गरेको उहाँको अनुभव छ भने कहिले बिक्री नै नभएको पनि छ ।

समय, सन्दर्भ मिलेसम्म उहाँ बाटो, पेटी तथा कार्यक्रममा गएर किताब बेच्नुहुन्छ । अप्ठ्याराे परेको बेला तथा अचेल भने उहाँ अनलाइन मार्फत पनि किताब बेच्नुहुन्छ । 

बाटोमा यसरी किताब फिँजाएर बेच्दा कसैले केही भन्ने कुरामा भने उहाँलाई त्यति चिन्ता छैन । ‘त्यो उनीहरुको काम हो । मेरो काम मैले गर्ने हो । अरुले के भन्छ भन्न थाल्यो भने त समय त्यसै जान्छ’ उहाँ भन्नुहुन्छ । 

भृकुटीमण्डपको पेटीमा किताब राख्दा नगरपालिकाले किताब लगेर उहाँको ६०–७० हजार जति नोक्सान भएको छ । 

‘किताब उठाएर लान्छन्, लिन जाँदा किताब हराइदिन्छन् यसो गर्दा झण्डै ६०–७० हजारको नोक्सान परेको छ’ श्रेष्ठ भन्नुहुन्छ, ‘उनीहरु ड्युटी गर्ने हो । कुन सामानको के महत्त्व भन्ने कुरा उनीहरुलाई खास मतलब हुँदैन ।’ 

अरुलाई किताब बेच्दै हिँड्ने उहाँ आफू भने आफूले बेच्ने सम्बन्धित विषयका किताबहरु मात्र पढ्नुहुन्छ । उहाँले लेख्ने कोशिस गरे पनि अहिलेसम्म प्रकाशनमा भने लेख रचनाहरु आइसकेका छैनन् । भविष्यमा लेख्ने योजनामा समेत हुनुहुन्छ श्रेष्ठ । 

‘यस महाधिवेशनमा वीपीको समाजवाद भन्ने पुस्तक सबैभन्दा धेरै बिक्यो’ उहाँ भन्नुहुन्छ, ‘त्यस्तै वीपी र नेपाली कांग्रेस अनि अनि कांग्रेसको इतिहास त्यसपछि बिकेका किताब हुन् ।’

उहाँसँग भएका किताबमा राजेश गौतमको ‘नेपालको प्रजातान्त्रिक आन्दोलन’का ९ भाग छन् जसको ६ हजार रुपैयाँ पर्छ । अनि रमेशनाथ पाण्डेको ‘कुटनीति र राजनीति’ सबैभन्दा महँगो किताब हो । जसको ९ सय ९५ रुपैयाँ पर्छ ।

‘महँगो भए पनि कहिले काहीँ बिक्छ त्यसैले लिएर आएको’ महँगो किताब पनि बिक्छ र भन्ने प्रश्नको प्रतिक्रियामा उहाँको उत्तर थियो । 

उहाँ वाल्मीकि क्याम्पसमा शास्त्रि तथा त्रि–चन्द्र क्याम्पसमा जुलोजी चौथो वर्षमा अध्ययन पनि गर्दैै हुनुहुन्छ । भविष्यमा प्रकाशन गृह वा अन्य यस्तै अध्ययन/अध्यापन आफ्नो भविष्यको योजना हुन सक्ने उहाँले गर्दै बताउनु भयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया