साँगुरीगढी गाउँपालिकाले बाँड्याे अावश्यक घरधुरीलार्इ जस्तापाता र सोलार सेट

 भदौ २४, २०७५ आइतबार १५:३०:५८ | सन्ताेष रुचाल

धनकुटा - धनकुटाको साँगुरीगढी गाउँपालिकाले एक सय ३१ बन्डल जस्तापाता र ६६ थान सोलार सेट वितरण गर्न शुरु गरेको छ ।

साँगुरीगढी गाउँपालिकालाई उज्यालो बनाउने उद्देश्यले उज्यालो घर कार्यक्रम अन्तरगत सोलार र दलित घर परिवार फुसको छानामुक्त कार्यक्रम अन्तरगत जस्तापाता वितरण गरिएको हो । 

कार्यक्रम अन्तरगत १५ लाख बराबरको जस्तापाता र ७ लाख बराबरको सोलार सेट खरिद गरेर वडा कार्यालय मार्फत प्राविधिकले सिफारिस गरे अनुसार वितरण गर्न सुरु गरिएको साँगुरीगढी गाउँपालिकाका योजना तथा प्रशासन शाखाका नायब सुब्बा नारायण खनालले बताउनुभयो । 

हालसम्म गाउँपालिकाको वडा नं. ८ मा विजुली बत्तीको पहँुच नभएका ६ घरलाई सोलार सेट वितरण गरिएको छ । करिब १२ हजार मूल्य पर्नेसोलार सेटबाट ४ वटा बत्ती बाल्न सकिन्छ । त्यस्तै फुसको घर भएका ४ घर दलित परिवारलाई जस्तापाता वितरण गरिएको ८ नं. वडाका वडाध्यक्ष विनय राईले बताउनुभयो ।

साँगुरीगढी गाउँपालिकाको उज्यालो घर कार्यक्रम अन्तरगत वडा नं. ७ मा ६ घरलाई सोलार वितरण गरिएको छ भने वडा नं. ९ र १० मा एक-एक घर परिवारलाई सोलार  र एक-एक घर दलित परिवारलाई जस्तापाता वितरण गर्ने कार्यक्रम रहेको नायब सुब्बा खनालले बताउनुभयो । 

वडा नं. १ मा ६ घर परिवारलाई सोलार र ६ घर दलित परिवारलाई जस्तापाता वितरण गरिएको छ भने ५ नं. वडामा ५ घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । त्यस्तै २ नं. वडामा ६ घर परिवारलाई सोलार सेट र ३ घर दलित परिवारलाई जस्तापाता वितरण गरिनेछ ।

यता वडा नं. ६ र ७ मा दलित बस्ती न्यून भएकाले जस्तापाता वितरणको कार्यक्रम नरहेको पनि नायब सुब्बा खनालले बताए । 

साँगुरीगढी गाउँपालिका १० वटा वडा मध्ये वडा नं. ३ मा ४ घरलाई सोलार, वडा नं. ४ मा ४ घरलाई सोलार, वडा नं. ५ मा ५ घरलाई सोलार वितरण गरिनेछ भने जस्तापाता वितरणको लागि प्राविधिकद्धारा छनौट गर्ने प्रक्रियामा रहेको छ । साँगुरीगढी गाउँपालिकाको क्षेत्र ठूलो र दुर्गम भएकाले सेवाग्रहीलाई मध्यनजर गर्दै सबै वडा कार्यालयहरुबाट राजश्व तिर्ने पूर्वाधार निर्माण गरी सेवा सुरु भइसकेको छ । 

जिल्ला सात स्थानीय तहहरु मध्ये भौतिक पूर्वाधारले सम्पन्न साँगुरीगढी गाउँपालिकाको समृद्धि र विकासको लागि गाँउपालिका सक्रिय भएर अगाडी बढिरहेको गाउँपालिका प्रमुख कुमारजंग याखाले बताए ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया