फुजेल घटनाका मुख्य योजनाकार भनिएका छविलाल पौडेलसहित १२ जना रिहा

 भदौ २५, २०७५ सोमबार ११:२८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – फुजेल घटनाका मुख्य योजनाकार भनिएका आरोपि छविलाल पौडेल रिहा भएका छन् । 

आइतबार चितवन जिल्ला अदालतले न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानुनी रुपले प्रमाण अभाव देखिँदा दावी स्थापना हुन सक्ने आधार एवं कारण नदेखिएको भन्दै आरोपी पौडेलसँगै १२ जनालाई सफाई दिएको हो ।

चितवन जिल्ला अदालतमा मुद्दा रहे पनि काठमाडौँ सदरखोरमा रहेका पौडेललाई सोमबार बिहान जेल प्रशासनले रिहा गरेको छ । बिहानै डिल्लीबजार पुगेका परिवारका सदस्य तथा आफन्तले पौडेललाई माला लगाएर र बाजा बजाएर स्वागत गरेका थिए । आइतबार चितवन जिल्ला अदालतले आफ्नो फैसलामा “अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिँदा आरोपित प्रतिवादी उपरको जन्मकैद गरी पाऊँ भन्ने वादीको दाबी पुग्ने वस्तुनिष्ठ आधार देखिँदैन ।” भनिएको छ ।

साथै फैसलामा “प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको भन्ने शङ्कारहित प्रमाणबाट माग दाबी पुष्टि हुन आएको नदेखिँदा आरोपित कसूरबाट सफाइ हुने ठहर्छ” भनिएको छ । अदालतको फैसलाले आरोपी भनिएका पौडेल सँगै “अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिँदा आरोपित प्रतिवादीउपरको जन्मकैद गरी पाऊँ भन्ने वादीको दाबी पुग्ने वस्तुनिष्ठ आधार देखिँदैन ।” साथै “प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको भन्ने शङ्कारहित प्रमाणबाट माग दाबी पुष्टि हुन आएको नदेखिँदा आरोपित कसूरबाट सफाइ हुने ठहर्छ”, फैसलामा भनिएको छ । 

आज रिहा भएका छविलाल पौडेलसँगै गोरखा फुजेल बस्ने सीता अधिकारी, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालिप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले पनि सफाइ पाएका छन् । रिहाइ भएपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले आरोप लगाउनेले घटनाबारे नबुझेर आफूविरुद्ध उजुरी हालेको बताए ।

हत्या गरिएको भनिएका कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादीले हत्या गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै मृतक कृष्णप्रसादका बाबु आमा  नन्दप्रसाद अधिकारी र गंगामाया लामो समय अनसनमा बसेका थिए । अनशनकै क्रममा  नन्दप्रसादको मृत्यु भएको थियो भने गंगामायाले केही समय अघि अनसन तोड्नु भएको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया