नाना पाटेकरका कारण मैले बलिउड छोड्नु पर्यो: तनुश्री दत्ता

 भदौ २५, २०७५ सोमबार १६:५०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडबाट एकाएक गायब भएकी अभिनेत्री तनुश्री दत्ता एक पटक फेरि चर्चामा आएकी छिन् । उनी केही दिनमा सुरु हुन गइरहेको रियालिटी टेलिभिजन शो बिग बोसमा सहभागी हुन गइरहेकी छिन् । 

‘आशिक बनाया आपने’ ‘ढोल’ ‘रकिब’ जस्ता फिल्ममा काम गरिसकेकी अभिनेत्री तनुश्रीले अभिनेता नाना पाटेकरका कारण बलिउड छोड्नु परेको कुरा मिडियासामु खुलासा गरेकी छिन् । तनुश्रीले सन् २००८ मा फिल्म ‘हर्न ओके प्लीज’ छायाँकनको क्रममा अभिनेता नाना पाटेकरले उनीमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

त्यसपछि उक्त फिल्मबाट तनुश्रीलाई निकालेर उनको ठाउँमा राखी सावन्तलाई राखिएको थियो । 

यो लफडा यतिमै मात्रै सीमित भएन । उनलाई धम्की आउनुका साथै, उनी चढ्ने गाडीमाथि तोडफोड पनि भएको थियो । साथै यसै लफडापछि तनुश्रीलाई बलिउडमा काम पाउन निकै मुस्किल भएको थियो । कसैले पनि उनीसँग काम गर्न नमानेपछि तनुश्री मुम्बई छोडेर गएकी थिइन् । 

त्यस पछिको केही समयसम्म आध्यात्मिक जीवन बिताउन सुरु गरेकी तनुश्री पछि अमेरिका बसाईं सरेकी थिइन् । केही समयअघि मात्रै उनी फेरि भारत फर्किएकी छिन् । 

अब उनी विवादित रियालिटी शो बिग बोसको १२औं सिजनमा बहिनी इशिता दत्ताका साथ प्रतियोगीको रुपमा सहभागी हुनेछिन् । साथै बिग बोसको घरमा रहँदा तनुश्रीले आफुमाथि भएको घटनाबारे धेरै खुलासा गर्नसक्ने अनुमान गरिएको छ ।

यस कुराले नाना पाटेकर पुनः विवादमा घेरामा पर्न सक्नेछन् । तर त्यस समयमा नाना पाटेकरले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै तनुश्री आफ्नी छोरी समान रहेको बताएका थिए । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया