पहिरोले पाल्पा बुटवलको सडक बन्द

 भदौ २५, २०७५ सोमबार १९:५३:१० | देव पचभैया
unn.prixa.net

पाल्पा - पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गतकाे बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

साेमबार सिद्धार्थ राजमार्ग अन्तर्गतकाे बुटवल-पाल्पा सडक खण्डमा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तिनाउ गाउँपालिकाको पानीमिल र सिरुवारीको बीचमा पहिरो खसेपछि दिउँसो ४ बजेदेखि सडक अवरुद्ध भएको हो ।  पहिरो पन्छाउन बुटवल र पाल्पाको दुईवटा  डोजर प्रयोग गरिए पनि वर्षा नरोकिएका कारण सडक खुलाउन ढिलाई भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सडकमाथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले अवरुद्ध सडक कति समय पछि खुल्छ भन्ने यकीन नभएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पाल्पाबाट बुटवल जाँदै गरेका सवारी साधन पाल्पाको केराबारी र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानका लागि छुटेको सवारी साधन झुम्सामा रोकिएका छन् ।

अविरल वर्षाका कारण तिनाउ नदीमा पानीको वहाव यस वर्षकै सबैभन्दा माथि आएको प्रहरीले जनाएको छ । तिनाउमा बाढी आएपछि नदी किनार अतिक्रमण गरेर बसेका वस्तीहरुमा सतर्कता अपनाइएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया