लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गर्नु नेपाली सार्वभौमिकताको विरुद्ध हो : राप्रपा

 माघ १, २०७८ शनिबार १५:१६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गर्नु नेपाली सार्वभौमिकताको विरुद्धमा भएको जनाएको छ । राप्रपाले आज एक  विज्ञप्ति निकालेर नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारेमा दिएको अभिव्यक्ति गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा भएको जनाएको हो । 

कालापानी लिपुलेक नेपाली भूमि भएकाले आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्नेमा राप्रपाले जोड दिएको छ । भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा पनि नेपाल सरकार र सत्तारूढ गठबन्धनको मौनता दुःखद र रहस्यमय भएको राप्रपाको विज्ञप्तिमा उल्लेख छ । 

नेपाली भूमिमा भइरहेको हस्तक्षेपकाबारे नेपाल सरकारले भारतसँग कुटनैतिक र राजनीतिक तहमा संवाद गरी अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न राप्रपाले नेपाल सरकारसँग माग गरेको छ । यसअघि  हिजो सत्तारुढ दल नेपाली काँग्रेसले विज्ञप्ती निकालेर लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरेकोप्रति आपत्ति जनाएको थियो ।  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया