सत्ता गठबन्धनको बैठक आज, चुनावको मिति घोषणा गर्नैपर्ने दबाब

 माघ ४, २०७८ मंगलबार ६:४६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पालिका चुनावको मिति घोषणा गर्न चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज सत्तारुढ गठबन्धनको बैठक बोलाउनुभएको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो भेट गरेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बोलाउनुभएको हो ।

बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।

निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, नागरिक समाज, प्रमुख प्रतिपक्ष एमाले, पालिकाका प्रतिनिधिले खबरदारी गर्दै आएका छन् ।

वैशाखमा चुनाव गर्नको लागि यसै हप्ताभित्र मिति घोषणा गर्नुपर्ने दबाब बढेपछि सत्तारुढ गठबन्धन दल छलफलमा जुट्न लागेका हुन् । हिजोको छलफलमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड वैशाखमै चुनाव गर्न सहमत भएको नेताहरुले बताएका छन् ।

पालिका निर्वाचन ऐनमा सरकारले दुईभन्दा बढी चरणमा चुनाव गर्न सक्ने तर पहिलो चरणको मितिलाई चुनाव सम्पन्न भएको मानिने उल्लेख छ । यस्तै ऐनमा गाउँसभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि अर्को चुनाव हुने उल्लेख छ ।

पालिका निर्वाचन ऐन अनुसार, जति चरणमा चुनाव भए पनि पहिलो चरणको चुनाव भएको ७ दिनपछि कार्यकाल सुरु भएको मानिने भएकाले पालिकाका पदाधिकारीको कार्यकाल आउँदो जेठ ५ मा सकिने निर्वाचन आयोगको व्याख्या छ ।

२०७४ मा वैशाख ३१, असार १४ र असोज २ मा गरी तीन चरणमा चुनाव भएको थियो । संविधानले स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल थप्ने परिकल्पना नगरेकाले वैशाखमै चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता छ। 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया