जिम्बाब्वेले दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई २२ रनले हरायो

 माघ ५, २०७८ बुधबार ७:४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जिम्बाब्वेले दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई हराएको छ ।

श्रीलङ्का भ्रमणमा रहेको जिम्बाब्वेले गएराति भएको खेलमा घरेलु टोलीलाई २२ रनले हराएको हो ।

जिम्बाब्वेले दिएको ३ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन मात्र बनाउन सक्यो।

श्रीलङ्काका लागि कप्तान डसुन शनकाले १ सय २ रनको शतकीय पारी खेले । यस्तै, कामिन्दु मेन्डीसले ५७, चामिका करुनारत्नेले ३४ र चारिथ अस्लान्काले २३ रन बनाए । जिम्बाब्वेका टेण्डाइ चतरा र ब्लेसिङ मुजराम्बानीले ३/३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।

जिम्बाब्वेका लागि कप्तान क्रेग इर्भिन र सिकन्दर राजाले अर्धशतकीय पारी खेले  । कप्तान इर्भिनले ९१ रन बनाए भने  सिकन्दर राजाले ५६ रन बनाए । यस्तै, सिन विलियम्सले ४८ र रेगिस चिकभाले ४७ रन बनाए । श्रीलङ्काका जेफ्री भान्डरसेले ३ तथा नवन प्रदीपले २ विकेट लिए ।

जितसँगै तीन खेलको श्रृङ्खलामा जिम्बाब्वेले १–१ को बराबरी गरेको छ । पहिलो खेलमा श्रीलङ्का ५ विकेटले विजयी भएको थियो ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया