खोपकै लागि तँछाड मछाड !

 माघ १९, २०७८ बुधबार ११:५३:५४ | वैद्यनाथ पाैडेल
unn.prixa.net

मिनभवनका अनिल अधिकारी बिहान झिसमिसेमै सिभिल अस्पतालमा लाइन लाग्नुभयो, कोभिड खोप लगाउनका लागि । ७ बजे ७ सय खोपको कुपन बाँडियो । यसमा जसको शक्ति उसको भक्ति नचल्ने कुरै भएन । धक्कामुक्की, ठेलमठेल, घचेडाघचेड के भएन र कुपन पाउन । 

यो त भयो कुपन पाउनेसम्मको कुरा । त्यसपछि सुरु भयो लामको कथा । लाममा फेरि चाँडो खोप लगाउन सुरु भयो धक्कामुक्की । कसैले लाइन मिच्ला र घुसपैठिया छिर्ला भन्ने लाइन बस्नेलाइ चिन्ता छँदैछ । उनीहरु बेलाबेला हल्ला गर्थे । कराउँथे । फेरि सुरक्षाकर्मीलाई गुहार लगाउँथे । सुरक्षाकर्मी पनि के कम यसो करायो । लौरो बजार्यो । 

तर, यी सबका बीच अस्पतालका भित्रबाट मान्छे धमाधम छिरेर खोप लगाउँदै बाहिरिँदै थिए । अस्पतालको कम्पाउण्ड बाहिर बिहान ६ बजेदेखि लाइन बसेका नागरिक केवल बाहिरबाट कराउने, हल्ला गर्ने, अनि सुरक्षाकर्मीलाई भित्रबाट मान्छे धमाधम छिरेर खोप लगाउँदैछन् हामी चाहिँ बिहानदेखि लाइन बसेर खोप लगाउन नपाउने, तपाईँहरु के हेरेर बस्नुहुन्छ भनेर मनको तीतो पोख्ने बाहेक केही उपलब्धि हुँदैन थियो । 

सुरक्षाकर्मी यसो पिलिक्क आँखा हेर्थे अनि नसुनेझैँ गर्थे । आखिर उनीहरु पनि विवश थिए । किनकि भित्र उनीहरुका ओहोदामाथिकाहरु कसको डर, धाक, लोभ, लालच, दबाब अनि के कारणले हो मान्छे खुसुखुसु पठाइरहेका थिए । सुरक्षा दिएर बाहिर ढोकामा बसेका सुरक्षकर्मीहरुलाई थाहा थिएन । उनीहरु केवल हेर्न मात्र सक्थे, बोल्न सक्दैनथे । 

अनिल अधिकारीले खोप कलेजमा सजिलै लगाउन पाउनुहुन्थ्यो । तर, खोपको दिन कलेज जान नपाएका कारण उहाँ खोपबाट वञ्चित हुनुभयो । अनि सिभिल अस्पतालमा खोप लगाउन आउनु भएको हो । तर, उहाँले ठूलो दुःख पाउनु भयो । एकदिन माया मार्नुपर्यो । 

‘खोप लगाउने हो भने एक दिन त माया मार्नैपर्छ’ जोन्सनको खोप लगाएपछि खोप लगाएको पाखुरा सुम्सुम्याउँदै बाहिर निस्कनु भएका अधिकारीको अनुभव हो यो, ‘पाखुरा एकदम दुखेको छ । गाह्रो पनि भइरहेको छ । डबल डोज भएर होला ।’ 

उहाँको जिज्ञासा थियो, 'हरेक पटकको नयाँ भेरियन्टमा खोप लगाइरहने हो भने कति वटा, कति पटक र कहिलेसम्म लगाइरहने ?'

खोप लगाएपछि गाह्रो भयो भन्दै बाहिर निस्कनु भएकी सुभद्रा थापाको अनुभव पनि अधिकारीसँग मिल्दो छ, ‘दिनभरि लाइनमा बसेर बल्ल खोप लगाइयो । लाइनमा बस्नेले खोप पाउने हुन् कि होइनन् यता भित्रबाट भने लगाको लगाइ छन् । कस्लाई के भन्नु खै !’ 

भेरोसिलको बुस्टर डोज लगाउनु भएकी अधिकारी पहिले खोप लगाउँदा खासै नदुखे पनि अहिले भने दुखेको भनेर कपासले खोप लगाएको ठाउँमा अलि दह्रोसँग थिच्दै भन्नुहुन्छ, ‘अलि हतार गरेर लगाएर पो हो कि दुखेको । भिड पनि धेरै छ ।’ 

भेरोसिलको बुस्टर डोज लगाउन भनेर बानेश्वरबाट आउनु भएको ७० वर्षीय बाबुराम ढकालले भने खोप लगाउन पाउनु भएन । भेरोसिल लगाउन आएका नागरिकलाई अब भेरोसिल सकिएकोले १५ दिनपछि मात्र आउन भन्दै थिए सुरक्षाकर्मी । 

‘खोप लगाउन आएको सकियो भन्छन्, बुढाबुढी मान्छे फेरि कहिले आउनु ? बुढाबुढीलाई त वडामा अथवा घरमै लगाउन पठाइदिएको भए पनि हुन्थ्यो । सरकार खोप लगा लगा भन्छ, लगाउन आउँदा खोप छैन’ ढकालको आक्रोश थियो । 

यसैबीच दिउँसो १ बजे खोपकेन्द्रमा खाजा खाने समय भयो । स्वास्थ्यकर्मी खाजा खान भनेर हिँडे । खोप लगाउन भनेर आएका ज्येष्ठ नागरिक र बिरामीहरु बस्ने ठाउँ नभएर अलपत्र परेका देखिन्थे । सुरक्षाकर्मी कराइ रहेका थिए, ‘अब २ बजेपछि मात्रै हो खोप लगाउने, तपाईँहरु पनि खाजा, चिया खाएर आउनुस ।’ 

कोरोनाबाट जोगिन भनेर खोप लगाउन आउनेको भिड हेर्दा त्यही भिडबाट नै कोरोना सर्ला जस्तो देखिन्थ्यो । त्यसमाथि निश्चित संख्यामा कुपन बाँड्दा नागरिकको भिड कुपन पाउन र खोप लगाउने महामारीमा व्यस्त देखिन्थे । त्यसमाथि खोपकेन्द्रको अस्तव्यस्तताले खोप लगाउन आएका ज्येष्ठ नागरिक र बिरामी अझ थला पर्लान जस्तो देखिन्थ्यो । 

पहुँचवालाहरु सिधा अस्पताल परिसरभित्र पसेर लाइन नबसी सोझै खोप लगाएर जान्थे । भित्र पनि केही भनाभन, केही रोष, आक्रोश त थियो । तर, यो आक्रोश खोप लाउन नपाएर होइन, लाइन मिचेर छिटो खोप लाउन नपाएकोमा थियो । अनि आफ्ना मान्छे मात्र छिराउने हाम्रा मान्छे नछिराउने भन्नेमा थियो तनाव । यो तनाव बिस्तारै सबैका मान्छे मिलाएर छोडेपछि साम्य हुन्थ्यो अनि बेला बेला पुनः मञ्चन हुन्थ्यो । 

खोप लगाउन आएका बुढाबुढी तथा अशक्तले बस्ने पर्याप्त ठाउँ नभएर उभिनु परेको थियो । उभिएर गल्दागल्दै कहिले पालो आउने हो थाहा छैन । अनि हट्टाकट्टा भने आफ्नो मान्छे मार्फत धक्का दिएर सजिलै खोप लगाएर आउँदै थिए । 

सरकार खोप पर्याप्त मौज्दात छ भनिरहेको छ । धरातलमा यथार्थ अर्कै देखिन्छ । अनि खोप नलगाएका नागरिकलाई सरकारी तथा सार्वजनिक सेवा नदिने चेतावनी दिइरहेको सरकारको बोलीलाई राजधानीको मुटु अनि संसद भवनको सामुन्ने रहेको अस्पतालको अस्तव्यस्तताले कुरीकुरी गरिरहेको थियो । तर, पनि सरकार आफ्नो रटबाट पछि हटेको अवस्था छैन । 

अन्तिम अपडेट: चैत १४, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया