आजदेखि मौसममा सुधार, भोलिदेखि दिन घमाइलो हुने

 माघ २२, २०७८ शनिबार ६:४८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । अस्ति र हिजो वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । अस्ति पश्चिम भेगमा र हिजो देशैभरि वर्षा र हिमपात भएको थियो ।

अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको र दिउँसोदेखि मौसम सफा हुने मानन्धरले बताउनुभयो । आज पहाडी भेगका केही ठाउँमा बद्ली भएर सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।

हिजो परेको पानीको प्रभावले भोलि बिहान हुस्सु लागे पनि त्यसपछि मौसम खुल्ने उहाँको भनाइ छ । भोलिदेखि मौसम खुलेर घाम लाग्ने र न्यानो सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अस्ति र हिजो भएको हिउँदे वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ ।

चिसो बढ्दा घरबाहिर निस्कन समेत समस्या भएको छ । यस्तै हिमपातका कारण सडक, हवाई यातायात प्रभावित भएकाे छ । अहिले उच्च पहाडी तथा हिमाली भेगका बस्तीहरुमा बाक्लो हिउँ जमेको छ । जनजीवन प्रभावित भए पनि हिउँदे वर्षा र हिउँका कारण किसान भने खुशी भएका छन् ।

माघमा परेको हिउँ र वर्षाले हिउँदे बाली सप्रने किसान बताउँछन् । विशेषगरी लेकाली क्षेत्रका बालीनालीका लागि हिउँदे झरी र माघमा परेको हिउँ महत्त्वपूर्ण मानिन्छ । यस वर्ष गएको वर्षको हिउँदको तुलनामा चार गुणा धेरै वर्षा भएको छ ।

गएको वर्षको हिउँद अर्थात डिसेम्बरदेखि फेब्रुअरीसम्म १५ दशमलव चार मिलिमिटर वर्षा भएकोमा यो वर्ष हिजो बिहान आठ बजेसम्म नै ५७ दशमलव ७ मिलिमिटर वर्षा भइसकेको थियाे । हिजो देशैभरि वर्षा भयो भने थुप्रै ठाउँमा भारी वर्षा समेत भएको छ । सामान्यतया हिउँदमा ६० दशमलव नौ मिलिमिटर वर्षा हुन्छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया