सांगठनिक एकीकरणका विषयमा नेकपाको सचिवालयमा छलफल सुरु

 भदौ २७, २०७५ बुधबार १९:५९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सांगठनिक एकीकरणसम्बन्धी मापदण्डका विषयमा छलफल सुरु भएको छ । 

बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणको मापदण्डका विषयमा औपचारिक छलफल सुरु गरिएको हो । 

महासचिव विष्णु पौडेलले पेस गर्नु भएको सांगठनिक एकीकरणसम्बन्धी मापदण्डका विषयमा औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । बैठकमा महासचिव पौडेलले पार्टी एकीकरणसम्बन्धी कार्य दलले तयार पारेको सुझावसहितको प्रतिवेदन पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई बुझाउनु भएको थियो ।

पार्टीको सांगठनिक एकीकरणको काममा सहमति जुटाउन बिहीबार अपरान्ह ३ बजे पुनः सचिवालय बैठक बोलाइएको छ । त्यही बैठकमा पार्टीको प्रदेश कमिटीसहितको सांगठनिक एकीकरणको बारेमा टुंगो लगाउने तयारी सचिवालयको छ । 

सचिवालयले टुंगो लगाएको पार्टीको सांगठनिक एकीकरणसम्बन्धी सहमतिलाई स्थायी समिति बैठकले अनुमोदन गर्ने निर्णय पनि बैठकमा गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया