ज्यानको भन्दा दाउराको माया

 भदौ २८, २०७५ बिहिबार २०:३२:२४ | सन्तोष थापा

पर्वत – कालीगण्डकी बर्खेभेलसँगै एकतमासले उर्लिएको छ । त्यही उर्लिएको भेलकै कारण पर्वतको वारिबेनी बजारमा झन् भन्दा झन् जोखिम बढ्दै गएको छ ।

पर्वतको वारीबेनी मात्रै होइन, पारिपट्टि म्याग्दीको सदरमुकाम बेनी पनि उच्च जोखिममा पर्दै गएको छ । कुन बेला कालीगण्डकी नदीले न घर न बास बनाउने हो भन्ने चिन्ता कालीगण्डकी नदीको दुवै किनारका बासिन्दालाई छ । त्यहाँका स्थानीयबासीहरु समस्या समाधानको विकल्प खोज्न भौँतारिइरहेका बेला जलजला गाउँपालिका –३, वारिबेनीका १४ वर्षीय बालक कुमकुम परियारलाई भने ज्यानको भन्दा दाउरा  र मुढाकै माया बढी छ । 

१४ वर्षीय कुमकुम परियार मात्रै होइन। १६ वर्षीय सन्दीप परियार पनि उनीसँगै कालीगण्डकी नदीमा  दाउराका लागि छट्पटाइरहेका देखिन्थे । झट्ट हेर्दा पौडी खेलेको जस्तो देखिने गरी उनीहरु कालीगण्डकी नदीमा बगाएर ल्याएका मुढा र दाउरा छोप्न पौडी खेल्दै नदीको तल र माथि गरिरहेका थिए । बाहिरबाट हेर्ने व्यक्तिहरुमध्ये कोहीले उनीहरुको साहसको कदर गर्दै थिए भने कसैले उनीहरुलाई चेतावनी स्वरुप गाली गरिरहेका थिए । 

अहिले मात्रै होइन, नदीमा उर्लिएका बेला जुनसुकै समयमा पनि उनीहरुको दिनचर्या यही नै बन्ने गरेको छ । ‘जोखिम मोलेर नदीमा नजाउ भन्दा मान्दैनन्’, स्थानीय व्यवसायी ठाकुरप्रसाद रेग्मीले भन्नुभयो, ‘हामीले भनेर मात्रै नभएर प्रहरीलाई समेत भन्न लगाउँदा पनि नमानेपछि भन्नै छाडियो ।’ 

उनीहरुले यसरी संकलन गरेको काठ, दाउरा, मुढा आवश्यकता अनुसार खोज्न आउने ग्राहकहरुलाई बिक्री गर्ने गर्दछन् । दाउरालाई भारी र दारपात काम लाग्ने प्रकारको काठ भेटिएमा क्यूफीट अनुसार बजारमा बिक्री गर्ने गर्दछन् । कुनै–कुनै सिजनमा एक जना व्यक्तिले मात्रै ३० देखि ४० हजारसम्म पार्ने गरेको स्थानीय ट्रयाक्टर व्यवसायी सुनिल विकले सुनाउनुभयो । ‘कापी कलम र घर खर्च चलाउन सजिलो भएको छ’, उर्लिँदो भेलमा काठ भेट्टाएपछि खुशी हुँदै कुमकुम परियारले भने ।  

बाढीले पुर्‍याएको क्षति स्थलगत अनुगमन गर्न पुगेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहितको टोलीले उनीहरुलाई नदीभित्रै पसेर दाउरा संकलन गर्न नहुने सुझाव दिए । पर्वतका डीएसपी भुवनेश्वर तिवारीले समेत उनीहरुलाई सम्झाउँदै स्थानीय प्रहरी बिट वारिबेनी प्रहरी चौकीमा कार्यरत मातहतका प्रहरी कर्मचारीलाई जोखिम मोलेर कुनै पनि कार्य गर्न नदिन निर्देशन समेत दिनुभयो । 

गएको मंगलबार बिहानदेखि परेको अविरल वर्षाका कारण बुधबार साँझ कालीगण्डकी नदीले यो सिजनकै सवैभन्दा ठूलो रुप लियो । हिमाली क्षेत्र मुस्ताङलगायत आसपासका क्षेत्रमा अत्याधिक वर्षा भएपछि उर्लिएको कालीगण्डकी नदी बिहीबारसम्म पनि आफ्नो मार्ग भन्दा बाहिर नै थियो । बाढीले म्याग्दीको सदरमुकाम बेनीबजार संरक्षण गर्नका लागि कालीगण्डकी नदीको किनारमा बनाइएको पक्की पर्खाल पनि भत्काएको छ भने पर्वतमा पनि धेरै घर र सामुदायिक भवनहरु जोखिममा परेका छन् ।  

मनसुन सकिने समयमा परेको भारी वर्षाले खोलामा एक्कासि पानीको सतह बढेपछि कालीगण्डकी नदीले सदरमुकाम बेनीबजार, गलेश्वरको तटीय क्षेत्रमा कटान गरेको छ । बेनीबजार संरक्षणका लागि झण्डै पाँच करोडको लागतमा निर्माण गरिएको पक्की तटबन्ध पनि बाढीले भत्काएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया