मैले सोचेको नेपाल

 भदौ ३०, २०७५ शनिबार १३:९:३५ | अनिल पौडेल ‘किर्ते’
unn.prixa.net

जहाँ सूर्यले मुस्कुराउँदै चिहाउँछ, गगनले पियुष पियाउँछ, जहाँ छहरा लोरी गाउने गर्छन्, प्रफुल्लित अप्सरा आउने गर्छन्, जहाँ पाइला राख्दा स्वर्गै हामी भुल्छौँ, आफैलाई बिर्सेर पखेरुमा डुल्छाँै, जहाँको अत्यन्त सुवासित छ माटो, संसार नै आउँछ पहिल्याउँदै बाटो, मोती झैँ लाग्छ हेर्छु घुमीघुमी, संसारकी रानी मेरी मातृभूमि ।

मैले कल्पना गरेको नेपाल चमत्कारिक हुनेछैन, अकस्मात तराईले सगर छुने छैन, हुनेछ केवल संसारलाई तान्ने, आफ्नोपनको डोरीले नेपालीलाई बाँध्ने । म भन्दिन झट्टै पेरिस, बर्लिन डुल्छु, म भन्दिन यो माटो चटक्कै भुल्छु । म त यही माटो खन्छु, खोस्रन्छु, हरप्रहर ज्याबल समाउँछु, हाँस्छ मेरो हिमाल, नाच्छ मेरो मयुर, किन चाहियो स्वर्ग ? म यही रमाउँछु ।

उर्लँदो बैंशको तागतिलो नाडी, लडाउँछु पाखुरी के भेल बाढी ? बुझ्नु छ जगत् निहुरिन्छु सधैँ, फूलझैँ यो देश सिउरिन्छु सधैँ ।

आवश्यक विचार, सही लगानी अनि अथक प्रयत्न गर्ने हो भने अलौकिक परिवर्तन र विकास यहाँ सम्भव छ ताकि संसार नतमस्तक, यो मुलुकले स्वर्ग छुनेछ । समुन्नत मुलुकका विवेकशील हाम्रो काठमाडौंमा खाना, पेरिषमा खाजा अनि साँझको खाना लण्डनमा हुनेछ ।

के फल्दैन यो माटोमा ? बीऊ राख्नुपर्छ खेतको डिलमा बसेर गोरस चाख्नुपर्छ । अमृतै होस् पराईको चुस्की चाहिँदैन, एक गिलास मोहीले आँत भिजाउँछु...मेक्सिकोको मदिरा अनि हल्याण्डको ह्विस्की चाहिँदैन ।

एकताको सुत्रले सारा संसारलाई रिझाउने छौँ, भेरीको पानी तानेर दैलेख, जाजरकोट भिजाउने छौँ । अपनत्व फिजाउने छौँ, कटु वचन गरिने छैन, प्रकृतिकी धनी हुनेछिन् नेपाल आमा फोस्रो कृत्रिमताले भरिने छैन । जुट्नेछन् सारा नेपाली आपसी सम्बन्ध गहिर्‍याउनेछन्, तब त मार्बलमा हिँड्ने परदेशीका पाइलाले पत्रे पथ पहिल्याउने छन् ।

क्षणिक रमिताको चर्चामा तृष्णा तर्कको मेट्दिनँ, ट्विन टावर ओसन पार्कको गफमा कतै आफ्नोपन् भेट्दिन अनि आफ्नै पाराका सोधाईमा गौरवान्वित हुन्छु र सोध्छु..... खेत अनि आली कस्तो छ? बालीनाली कस्तो छ? जाडो गयो गर्मी आयो भन्नु पर्दैन आच्छी १ गाई ब्याउने कुरा थियो नि... बाच्छो ब्यायो कि बाच्छी ?

मैले सोचेको नेपाल यस्तो हुनेछ जहाँ कैयौँ रोजा लक्जेम्बर्गहरु भेलबाढीमा पर्ने छैनन्, कैयौँ मदर टेरेसाहरु झाडापखालाले मर्ने छैनन् । कैयौँ ब्रुसली, माईक टाईसनहरु रक्सी धोकेर हिँड्ने छैनन्, अनि कैयौँ मण्डेलाहरु पटाका बोकेर हिँड्ने छैनन् । कैयौँ नाईटिङ्गेलहरु गरिबीको पिडा खेपेर हिँड्ने छैनन् अनि कैयौैँ पेले, म्याराडोनाहरु उदाश भई खैनी चेपेर हिँड्ने छैनन् ।

मैले सोचेको नेपाल यस्तो हुनेछ जहाँ बालबालिका उत्साहित हुँदै विद्यालय जानेछन्, डेन्ड्राईट सुँङ्ने कैयौँ जीवनले भरपेट अत्र खानेछन् । बन्नेछन् सबै स्वावलम्बी कतै मौका पारी चौका छक्का हान्नुपर्ने छैन, अनि देशलाई दुःखबाट पारी तार्न सक्ने कैयाैँ पाखुरीहरुले सडकलाई नै बिस्तारा ठान्नुपर्ने छैन ।

मैले सोचेको नेपालमा कुनै पनि युवा पराई भूमिमा नोकर बन्न धाउने छैन, कसैको सग्लो शरीर एकाएक बाकसमा आउने छैन । ती व्यक्तिले यही माटोमा गुन्द्री, राडी बनाएर खाडी भुल्नेछन्, झुसिलो खोरियामै कोरिया देख्नेछन् । मात्र राज्यले युवाको खातिर केही बोलिदिनु पर्छ अनि अनेकन सम्भावनाको ढोका खोलिदिनुपर्छ । कागजमा पुल बनाएर मान्छे तार्ने सरकार हैन कर्मठ सरकार बन्नुपर्छ, विद्वान राजनीतिज्ञले पहिले देश भन्नुपर्छ तब मात्र मैले अनि हामीले सोचेको नेपाल वास्तवमा बन्नेछ ।

शीर छ चाँदीझैँ हिमालको, हरियो छाती पहाडको अनि पहेँलो पटुकी तराईको, लोभिँदैनौँ रत्तिभर चाहे सुनै सुन होस् पराईको । कहाँ पाइएला स्विट्जरल्याण्डमा सिन्कीको अचार साँधेर १ मेरी आमा छैनन् क्यानडामा बनाउँदिनन् कोदोको रोटी कम्मरमा पटुकी बाँधेर । चौबन्दी, फरिया त्यो ढाका टोपीपराई भूमिमा सुहाउँदैन, म जाँदिन फिनल्याण्ड फापरको रोटी मलाई कसैले खुवाउँदैन ।

खागीको जुत्ता, खराऊ फाली डिङ्गो कस्न सक्दिनँ, गुन्द्रक पाइँदैन ग्वाटेमालामा, चाकु खाइँदैन चीनमा एकैछिन बस्न सक्दिनँ । जगेर्ना गर्छु आफ्नै संस्कार, संस्कृतिको नामेट भएर बिलाउने छैन, म जाँदिनँ नर्वे अनि निकारागुवा.... कसैले सगुन स्वरुप निगार पिलाउने छैन ।

हाँस्नेछन् फूल नाच्नेछन् पत्थर गाउनेछन् पातले
शीरमा नेपाल, चन्द्र र सूर्य उचाल्छु हातले
मेची र काली समाई हात रम्नेछन् यहीँ झुमी
संसारले गीत गाउने छ सदा यो मेरो प्राणभूमि ।

अन्तिम अपडेट: साउन २५, २०७६

2 Comments

  • loknath acharya

    Oct. 10, 2018, 2:43 p.m.

    हाँस्नेछन् फूल नाच्नेछन् पत्थर गाउनेछन् पातले शीरमा नेपाल, चन्द्र र सूर्य उचाल्छु हातले मेची र काली समाई हात रम्नेछन् यहीँ झुमी संसारले गीत गाउने छ सदा यो मेरो प्राणभूमि । ramro lago अनिल ji

  •  0 Reply
  • देबीप्रसाद खनाल

    Sept. 17, 2018, 5:42 a.m.

    देशभरका युवापुस्ताले मनन् रअनुसरण गरि व्यबहारमा उतार्न लाईअसल मार्ग चित्र।

  •  0 Reply

तपाईको प्रतिक्रिया