नेपाललाई पीएनजीले दियाे २ सय ९३ रनकाे लक्ष्य

 चैत ११, २०७८ शुक्रबार १३:४१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले दुई सय ९३ रनकाे लक्ष्य पाएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनायाे । पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नाेर्मान भानुआले ४७ रन बनाए । बलिङतर्फ कमल ऐरी, साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए ।

एकदिवसीयमा याे पीएनजीकाे अहिलेसम्मकै ठूलो योगफल हो । यसअघि पीएनजीले हङकङसँगकाे एकदिवसीय क्रिकेटमा सन् २०१४ मा दुई सय ६४ रनकाे सर्वाधिक ठूलाे याेगफल बनाएकाे थियाे ।

त्यस्तै पीएनजी नेपालसँगकाे खेलमा सर्वाधिक रन बनाउने टोली पनि बनेको छ । यसअघि सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसँगकाे तेस्राे एकदिवसीय खेलमा दुई सय ५४ रन बनाएकाे थियाे जुन नेपालले एकदिवसीयमा पाएकाे सर्वाधिक ठूलाे लक्ष्य थियाे । यद्यपि नेपालले पारस खड्काकाे एक सय १५ रनकाे सहयाेगमा नेपालले त्याे लक्ष्य पूरा गरेकाे थियाे । याे नै नेपालले एकदिवसीयमा पूरा गरेकाे र बनाएकाे अहिलेसम्मकाे सर्वाधिक ठूलाे याेगफल थियाे । 

नेपालले आज र भोलि पीएनजीसँग दुई वटा एकदिवसीय खेल खेल्दैछ। यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच सात वटा खेलको टी–२० शृङ्खला हुँदैछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया