भ्यु टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : काेइराला

 चैत २०, २०७८ आइतबार १६:४५:१० | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका २ को सिमलटार खानेपानी आयोजनाको आज आइतवार उद्घाटन गर्दै डा. कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो । 

‘विकासका लागि पैसा छैन भन्छौँ, भ्यु टावरमा अनावश्यक खर्च गरिरहेका छौँ, मधेसमा जानुभयो सडक सडकमा गेट बनाइराखेका छन्’, उहाँले भन्नुभयो, ‘यस्तो काम रोकिनुपर्छ ।’ कांग्रेसका नेता तथा कार्यकर्ताले घोषणापत्र बनाउँदा भ्यु टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘चुनाव आउँदैछ, भ्यु टावर बनाउँदा लाग्ने खर्च अस्पताल, विद्यालयमा लगानी गर्छौँ भनेर प्रतिबद्धता गर्नुस्, त्यसो गरेको खण्डमा नेपाली कांग्रेसका लागि फाइदा हुन्छ ।’ 

डा. कोइरालाले तनहुँ सुगम भए पनि मानिस अझै पनि डोकामा पानी लिन जानुपर्ने अवस्था विडम्बना रहेको बताउनुभयो । 

डा. कोइरालाले स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने सहमति भएको भन्दै कसरी गठबन्धन भन्ने विषय प्रस्ट नभएको बताउनुभयो ।
केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको नेतृत्वमा जिल्लामा विकास निर्माणको कामले गति लिएको बताउनुभयो । बन्दीपुरमा खानेपानी, सडकलगायतका योजनामा कांग्रेसको पहल रहेको जनाउँदै उहाँले विकास गर्ने पार्टी भनेको कांग्रेस रहेको जिकिर गर्नुभयो । 

खानेपानीको अभाव रहेको यस क्षेत्रका स्थानीयवासीलाई सहज बनाउन लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो । एक करोड ५१ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको अध्यक्ष रोजन बानियाँले जानकारी दिनुभयो । यस आयोजनाबाट दुई सय २५ घरधुरी लाभान्वित भएका छन् । खानेपानी योजनाबाट सिमलटार, धारापानी, चामुण्डाथान र थुम्कीका स्थानीयवासीका घरघरमा धारा जडान गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया