एमालेले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुङ्ग्यायो

 वैशाख ११, २०७९ आइतबार ६:१९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेकपा एमालेले ५ महानगरपालिका र ९ उपमहानगरपालिकाको उम्मेदवार टुङ्ग्याएको छ । 

शनिवार बसेको एमाले सचिवालय बैठकले काठमाण्डौ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उपमेयरमा सुनिता डङ्गोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । उपमेयरको टिकट पाएकी डङ्गोलले यसअघि मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो। मिस नेवाः समेत रहेकी उहाँले चुनावी घोषणापत्र समेत सार्वजनिक गर्नुभएको थियो ।

एमालेले ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । व्यञ्जनकार २०७४ मा पनि चिरिबाबु महर्जनसँग केही सय मतान्तरले पराजित हुनुभएको थियो ।

पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ । एमालेबाट पोखराको मेयरका लागि १२ जनाले दाबी पेस गरेका थिए । 

भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । यसअघि नगर कमिटीले उहाँको मात्र नाम सिफारिस गरेको थियो । भरतपुरमा एमालेले उपमेयरको उम्मेदवार टुङ्ग्याएको छैन । त्यहाँ राप्रपासँग तालमेलको प्रयास भएको छ ।

एमालेले वीरगञ्ज महानगरको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाएको छ । २०७४ मा तत्कालीन सङ्घीय समाजवादी फोरमबाट मेयर जितेका उहाँ फेरि उम्मेदवार बन्ने सर्तमै एमाले प्रवेश गर्नुभएको थियो । उपमेयर भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई छाडेको छ ।

विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार भने टुङ्गो लाग्न बाँकी छ । 

यस्तै, एमाले सचिवालय बैठकले ९ वटा उपमहानगरको पनि उम्मेदवार टुङ्ग्याएको छ । धनगढीको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना तथा नेपालगञ्जमा पशुपतिदयाल मिश्रलाई मेयर र शान्तिदेवी ढकाललाई उमपेयरको उम्मेदवार बनाइएको छ । 

तुलसीपुरको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी तथा घोराहीको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हिमाकुमारी डीसीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

बुटवलको मेयरमा बाबुराम खड्का र उपमेयरमा सावित्रादेवी अर्याल, हेटौँडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले, धरान उपमहानगरको मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बु तथा इटहरीको मेयरमा यामकुमार सुब्बा र उपमेयरमा सङ्गीता चौधरीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । कलैया उपमहानगरको मेयरमा विनोद साहलाई उम्मेदवार बनाउने निर्णय भएको छ । उपमेयरको टुङ्गो लाग्न बाँकी छ। 

एमालेले जनकपुर र जितपुर सिमरा उपमहागरको उम्मेदवार टुङ्गो लगाउन बाँकी छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया