आईजीपी नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा परेकाे मुद्दा हेर्दाहेर्दैमा

 बैशाख २१, २०७९ बुधबार १७:२३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 

विधि मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अस्ति सोमवार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । बहसको क्रम नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ । मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्ट पोखरेलले ३० दिन लामो बिदा लिनुभएको छ ।

आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भएका भए पनि पोखरेल सबैभन्दा पहिले एआईजीमा नियुक्त हुनुभएको हो । पोखरेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मङ्सिर २५ मा एआईजीमा बढुवा गरेको हो । सहकुल थापा २०७८ असार २४ मा एआईजी हुनुभएको हो । धीरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर २०७८ चैत १७ मा बढुवा गरेको थियो । आईजीपी नियुक्तिमा असन्तुष्ट थापा भने अदालत जानुभएको छैन । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया