भोट दिन जाँदा यी कुरामा ध्यान दिनुपर्छ

 बैशाख २९, २०७९ शुक्रबार ५:२९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भोट दिन जाँदा आफ्नो परिचय खुल्ने कागजात लिएर जान निर्वाचन आयोगले अनुरोध गरेको छ । मतदाता नामावलीमा नाम भएका मतदाताहरुले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनीपुर्जाको सक्कल प्रमाणपत्रमध्ये कुनै एक लिएर जान आयोगको अनुरोध छ ।

मतदान केन्द्रमा होहल्ला गर्न पनि पाइँदैन । यस्तै मतदान केन्द्रमा मतदानको लागि आउने अशक्त, वृद्ध, सुत्केरीलाई आवश्यक सहयोग गर्नुपर्छ । मतदान गर्न जाँदा मोबाइल, क्यामेरा तथा फोटो खिच्ने कुनै उपकरण वा सामग्री साथमा लिएर जान हुँदैन । जाँडरक्सी खाएर गएकाले पनि भोट दिन पाउँदैनन् । सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु पनि नलैजान आयोगले भनेको छ।

मतदान केन्द्रमा जाँदा मास्क लगाएर जानुपर्छ । मतदान गर्न जानुअघि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने, मतदानस्थलमा होहल्ला नगर्ने, कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा सङ्केत भएको पहिरन, परिचयपत्र र ब्याज लगाउन नहुने आयोगले जनाएको छ ।

तस्बिर : निर्वाचन आयाेग 

त्यस्तै मतदानको दिन गाडी प्रयोग गरी आउजाउ गर्न नहुने, अर्काका नामबाट मतदान गर्न नहुने, एकभन्दा बढी पटक मतदान गर्न नहुने, मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न नपाइने उल्लेख छ । मतदानका बेला मतपत्र सार्वजनिक गर्न, फोटो खिच्न पनि प्रतिबन्ध लगाइएको छ ।

कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आए उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ । छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिबाना गर्न पाउने अधिकार मतदान अधिकृतलाई दिइएको छ ।

मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउनेछन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया