हल्लैहल्लामा देशभर गाडी बन्द, ऐन संशोधन नभए दसैँ तिहारमा पनि गाडी नचलाउने चेतावनी

 असोज ३, २०७५ बुधबार १४:५७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बुधबार काठमाडौं उपत्यकाबाट बाहिरिने धेरै गाडी छुटेनन् । नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर लगायतका ठाउँमा सयौं यात्रु गाडी कुरेर बसेका थिए । तर गाडी थिएनन् । 

सरकारले जारी गरेको सवारी तथा यातायात व्यवस्था ऐन तेस्रो संशोधनमा भएको व्यवस्थाले चालकहरु मारमा पर्ने केही दिनदेखि चालकहरुले गाडी नचलाउने धम्की दिँदै आएका थिए । बुधबारदेखि भने लामो दूरीमा चल्ने गाडी ठप्प जस्तै बनाइएको छ । 

चलेका केही गाडीले पनि चर्को भाडा लिइरहेका छन् । काठमाडौं– हेटौंडाको रुटमा चल्ने सुमोलाई १ हजार रुपैयाँ भाडा तिर्न यात्रु बाध्य भएका छन् । तर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले भने यो आन्दोलन हल्लै हल्लामा भएको बताउनुभयो ।  

‘हामीले पनि हल्ला सुनेका छौं, तर आन्दोलन हामीले गरेको होइनौँ, सवारी तथा यातायात व्यवस्था ऐनमा हुँदै नभएको कैदको हल्ला गरेर गाडी चालक आन्दोलनमा रहेछन्, तर गाडी नै बन्द गर्ने निर्णय कसले गरेको हो, अनि नेतृत्व कसले लिएको भन्ने पनि थाहा छैन’, राईले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘चालकले गल्ती गरेमा यातायातकै ऐन आकर्षित हुने हो, मुलुकी ऐनको बारेमा भ्रामक प्रचार छरेर बन्द गरिएको छ, राज्यले यसमा चासो दिनुपर्छ ।’

यता नेपाल स्वतन्त्र सवारीचालक संघर्ष समितिका केन्द्रीय संयोजक वसन्त शर्माले सरकारले जारी गरेको संशोधित सवारी तथा यातायात व्यवस्था ऐनले चालकलाई अपराधी जस्तो व्यवहार देखाएकाले बाध्य भएर गाडी चलाउन छाडेको बताउनुभयो । 

ऐन संशोधन नभएसम्म आफूहरुले गाडी नचलाउने उहाँले चेतावनी दिनुभयो । संशोधित ऐनले चालकलाई अत्यन्तै पीडित मजदुर बनाएको उल्लेख गर्नुभयो । दसैँ नजिकिँदै गर्दा चालकहरुको आन्दोलनले यात्रुहरुलाई भने मर्का पारेको छ । ऐन संशोधन नभए दसैँ तिहार जस्ता चाडमा पनि आफूहरुले गाडी नचलाउने उहाँले बताउनुभयो । 

सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको कानुन संशोधन नभए चालक अनुमति–पत्र सरकारलाई बुझाएर पेशा परिवर्तन गर्नुपर्ने अवस्थामा आफूहरु पुगेको पनि उहाँले बताउनुभयो ।  

‘हामीले गाडी चलाउन छाडेर थन्क्याएर राखेका हौँ,’ कसैले चलाउँछन् भने हाम्रो कुनै अवरोध हुँदैन’, उहाँले भन्नुभयो । आन्दोलनका नाममा सडकमा उत्रने तथा जबरजस्ती सवारी बन्द गर्न लगाउने आफूहरुको कार्यक्रम नरहेको पनि उहाँले बताउनुभयो ।    

यस्तो छ व्यवस्था

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा १६१ को उपधारा एकले ज्यान मारेमा हुने सजायको व्यवस्था गरेको छ ।

कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई मृत्यु भएको खण्डमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।

तर ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई पनि कसूरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुने व्यवस्था राखिएको छ । 

उपधारा २ ले दुर्घटनाको कारणबाट मृत्यु भएमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ भन्ने व्यवस्था गरेको छ ।  

सरकारले अहिले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था ऐनमा यो दुवै उपधारालाई जस्ताको त्यस्तै राखेको छ । तर धारा १६१ को उपधारा ३ र ४ मात्रै अहिले संशोधन गरिएको छ । 

उपधारा ३ मा कसैको ज्यान जान सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुईहजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था थियो । तर अहिले संशोधित व्यवस्थामा कैद सजाय यथावत राखिएको छ भने जरिवाना बढाएर पचास हजार रुपैयाँ पुर्याइएको छ ।  

यस्तै उपधारा ४ मा चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसूर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रूपैयाँ समेत गरिने छ भनेर उल्लेख छ । तर अहिले त्यसलाई बढाएर पचार हजार पुर्याइएको छ । 

यस्तै सोही ऐनको धारा १६२ ले अङ्गभङ्ग भएमा हुने सजायको व्यवस्था गरेको छ । उक्त धाराको उपधारा १ ले कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई अन्धो वा नपुंसक मध्ये जुनसुकै कुरा भए पनि त्यस्तो कार्य बदनियतसाथ गरेको भए सवारी चलाउने व्यक्तिलाई आठ वर्षसम्म कैद र दश हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । तर अहिले संशोधन गरिएको ऐनमा कैद यथावत राखिएको छ भने जरिवाना ३ लाख पुर्याइएको छ ।

अन्धो वा नपुंसक बाहेक अन्य कुनै अङ्ग बेकम्मा भएमा आठ वर्षसम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिवाना गरिने व्यवस्थालाई बढाउँदै अहिलेको संशोधित ऐनमा जरिवाना बढाउँदै २ लाख पुर्याइएको छ । 
 
 

अन्तिम अपडेट: चैत ११, २०८०

2 Comments

  • binod karki

    Sept. 21, 2018, 7:22 a.m.

    ऐन कानून हामीले बनाएकाे समाज सुधारकै लागी हाे कसैकाे पनि लापरवाहीका कारणवाट अनाहकमा ज्यान नजाअाेस सवै सचेत हुनु पर्छ । चाहे नागरिक हुन वा चालक सबैले नियमकोे पालन गरेमा यस्ता दुर्घटना न्युन हुनमा भने अवश्य मद्धत मिल्ने नै छ ।

  •  0 Reply
  • kisan

    Sept. 20, 2018, 11:01 a.m.

    यो चाहिँ अलि छिटो भो , असोज २० वाट भएको भए राम्रो /

  •  0 Reply

तपाईको प्रतिक्रिया