एमाले कार्यकर्ताले ‘बुथ कब्जा’ गरेकाे भन्दै बूढीगङ्गामा फेरि मतदान गर्न कांग्रेसकाे माग

 जेठ ६, २०७९ शुक्रबार १८:१६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावको मतदानका क्रममा बाजुराको बूढीगङ्गा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले ‘बुथ कब्जा गरी’ फर्जी मत हालेको आरोप लगाएको छ ।  

कांग्रेसले आज शुक्रवार एक विज्ञप्ति निकालेर एमालेका कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवार र प्रतिनिधिलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी फर्जी मत हालेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौती दिँदै एमालेका तर्फबाट बूढीगङ्गा नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्य भएको भन्दै कांग्रेसले निन्दा र भर्त्सना गरेको हो ।

‘चुनावमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा (कर्फयु) जारी गर्नुपरेको घटनाले स्थिति निकै भयावह भएको स्पष्ट छ’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

चुनावको निष्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिने यस किसिमको जघन्य घटनामा संलग्नमाथि कानुनअनुसार कडा कारबाहीको माग गर्दै कांग्रेसले कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा फेरि मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया