वीर अस्पतालमा बिरामीलाई अलमल : जाँच गर्ने ठाउँ फेला पार्नै सकस

 जेठ २३, २०७९ सोमबार ९:४८:४५ | महेश ज्ञवाली
unn.prixa.net

बारा कोल्हवीका रामहरी प्रसाईँ पेट र हड्डीको समस्या लिएर वीर अस्पताल आएको दुई दिन भयो । उहाँलाई अस्पतालमा उपचार गराउनुुअघि टिकट लिनुपर्छ र टिकटको लागि टोकन लिनु पर्छ भन्ने पनि थाहा भएन । पहिलो दिन कुन ठाउँमा के-के गर्नु पर्छ भनेर बुझ्दैमा दिन बित्यो ।

दोस्रो दिन बिहान ९ बजे नै टोकन लिन लाइन बस्नु भयो । उहाँले ७ सय ४२ नम्बरको टोकन पाउनु भयो । तर उहाँभन्दा पछि टोकन लिनेले पहिल्यै डाक्टर भेटिसक्दासमेत उहाँ अलमलमै पर्नुभयो ।

‘बल्लबल्ल डाक्टरलाई देखाएपछि रगत जाँच गराउने ठाउँ खोज्दैमा दिउँसोको २ बज्यो । त्यो पनि आठ पटक सोधेपछि मात्र । अस्पतालमा चिनेको मान्छे हुने हो भने सजिलै पालो आउँदो रहेछ । बिरामी भएर उपचार गर्न आउँदा पनि सुख भएन’ उहाँले गुनासो गर्नुभयो ।

झापाका सुमन अधिकारी आमालाई पत्थरीको उपचार गराउन वीर अस्पताल पुग्नुभएको छ । उहाँलाई त टोकन लिन नै २ घण्टा लाग्यो । स्वास्थ्य बीमा गराएकाले छुट पाउने आशामा बीमाको लाइन बस्दा अर्को एक घण्टा बित्यो । फेरि जाँच गराउने लाइनमा पालो कुर्दा दिउँसोको एक बज्यो । एक बजेदेखि २ बजेसम्म खाजा खाने समय हुँदो रहेछ । त्यो पनि थाहा भएन ।

डाक्टरले जाँचेपछि दिसा पिसाब परीक्षण गराउन भने । उपचार गराउन कहाँ जाने कसलाई सोध्ने केही थाहा भएन । बिरामी आमालाई एउटा कुनामा राखेर ठाउँ ठाउँ सोध्दै हिँड्नु भयो । एक जनाले त्यहाँ लाइन बस्नु भनेर देखाइदिए । अब त पालो आयो भन्ने बेलामा तपाईँ किन यहाँ आउनु भएको, उ त्यो ठाउँ जानु भनेर अन्तै पठाए ।

‘उता आमालाई सकस भैसक्यो । बिरामी मान्छेको हेरचाह गर्नु पर्नेबेलामा एक्लै छाडेर हिँड्नु परेको छ । यहाँ त बिरामी कुर्न आएको मान्छे पनि बिरामी हुने रहेछ । तीन बजिसक्दा पनि जाँच गराउने पालो आएको छैन । रिपोर्ट आउँदा पनि उस्तै झमेला हुन्छ भन्ने सुनेको छु । खै हेरौँ कति दिन लाग्छ ?’ सुमनले अँध्यारो मुख लगाउनुभयो ।

सिन्धुपाल्चोक सुनकोशीका वसन्त भण्डारी पनि श्रीमतीसँगै स्वास्थ्य परीक्षण गराउन वीर अस्पतालमा हुनुहुन्छ । उपचार गरेपछि आएको बिल हेर्दा दुई जना बिरामीको एउटै बिल आयो । हिसाब पनि मिलेको छैन । हतार नगरि काम गर्नु, किन एउटै बिल बनाउनु भयो भन्दा कर्मचारी उल्टै रिसाए । एउटा छाप लाएर आउँछु भनेर निस्केका कर्मचारी उतै बेपत्ता भए ।

निर्देशकलाई भन्छु भनेर कोठाकोठा चाहार्नु भयो तर कोठा नै पत्ता लागेन । ‘सानो विषयमा भएको विवादका कारण साँझ परिसक्योे । एकातिर रिपोर्ट लिने लाइन बस्दा अर्को ठाउँको काम छुट्यो । उपचार हुने समय पनि सकियो अब अर्कोेदिन आउनु पर्छ । ‘नागरिकले तिरेको कर उठाएर बनेको अस्पतालमा आज नागरिकले नै सहज सेवा पाएका छैनौँ । बिरामीसँग गर्ने व्यवहार पनि ठिक छैन’ उहाँले गुनासो गर्नुभयो ।

‘सेवा लिन कहाँ जाने बुझ्न खोज्दा कतिलाई थाहा छैन कतिले बताएनन् । कर्मचारीलाई पनि झर्को लागेको छ । उनीहरुले चिनेको मान्छे भए एकैछिनमा सेवा पाउँछन् । हामी जस्ता निम्न वर्गकाले कहिले सेवा पाउने ? ज्येष्ठ नागरिकलाई न सहज छ, न सहुलियत’ भण्डारीले भन्नुभयो ।

सस्तो र गुणस्तरीय उपचार हुने भन्दै देशका विभिन्न ठाउँबाट वीर अस्पताल आउने बिरामीको दिनहुँ घुइँचो लाग्छ । वीर अस्पतालमा दैनिक झन्डै २ हजार बिरामी उपचारको लागि पुग्ने गर्छन्। तर कुन सेवा लिन कहाँ जानुपर्छ भनेर थाहा नहुँदा धेरै अलमलिने गर्छन् । न कुनै कर्मचारीलाई वास्ता छ, न त डाक्टरलाई । 

सेवाग्राहीलाई सहज बनाउन भनेर सोधपुछ कक्ष र टिकट वितरण गर्ने ठाउँमा कसरी सेवा लिने भनेर जानकारी दिने त गरिन्छ । तर कसैले भाषा नबुझेर त कसैले मेसो नपाउने हुँदा समस्या उस्तै छ । 

अनलाइन सेवा सुरु

अस्पतालले सबै जानकारी दिने गरी अनलाइन सेवा सुरु गरेको छ । अनलाइन सेवाबाट बिरामीले घरमै बसेर टोकन लिनेदेखि डाक्टर भेट्ने समयको जानकारी पाउन सक्नेछन् ।

‘अब कोठा खोज्दै हिँड्नु पर्दैन । कुन कोठामा जाने भनेर अनलाइनमै हेर्न मिल्छ । अनलाइन सेवा सुरु गरेपछि केही फरक देखिएको छ । तर बानी पार्न अझै केही समय लाग्छ’ कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका उपनिर्देशक प्राध्यापक डाक्टर अनुपमा कार्कीले भन्नुभयो, ‘अस्पतालमा छिटै स्वयंसेवकको सङ्ख्या पनि बढाउने योजना छ।’ 

अन्तिम अपडेट: बैशाख ८, २०८१

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया