तत्कालै मन्त्री परिवर्तन नहुने, नेकपा एसभित्र विवाद बढ्दो

 जेठ २३, २०७९ सोमबार १५:९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्न पठाएको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्नुभएको छ । छिटो–छिटो मन्त्री परिवर्तन गर्दा राम्रो सन्देश नजाने र बजेट पनि पास नभइसकेको अवस्थामा मन्त्री परिवर्तन गर्न नहुने देउवाको अडानपछि मन्त्री परिवर्तन नहुने भएका छन् ।

एकीकृत समाजवादीले चार जना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्न हिजो आइतवार प्रधानमन्त्रीलाई नामावली बुझाएको थियो । तर देउवाले आज साेमवार मन्त्री परिवर्तन नगर्ने बताउनुभएको हो । यो विषयमा प्रधानमन्त्री देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग पनि छलफल गरेर सहमति जुटाएको बालुवाटार स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ । राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुवँरलाई श्रम रोजगार र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी थियो । 

मन्त्री परिवर्तनको विषयलाई लिएर एकीकृत समाजवादीमा विवाद बढेको छ । आफूहरूलाई फिर्ता बोलाउने निर्णयप्रति बहालवाला मन्त्रीहरूले चर्को असन्तुष्टि जनाएका छन् भने मन्त्री बन्न ठिक्क परेकाहरूले जसरी पनि पुराना मन्त्री फिर्ता बोलाउनुपर्ने अडान राखेका छन् । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया