काठमाण्डौको फोहर आजदेखि उठ्दै

 जेठ २४, २०७९ मंगलबार ७:१२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - लामो समयदेखि थुप्रिएको काठमाण्डौको फाेहर आजदेखि उठाइने भएको छ।

केही दिनयता काठमाण्डौमा थुप्रिएको फाेहर आज बिहानदेखि बन्चरेडाँडा डम्पिङ साइटमा लैजाने सहमति भएको छ । सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

सहरी विकास मन्त्रालयमा हिजो अबेर काठमाण्डौ महानगरपालिका, सिसडोल र बन्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने सहमति भएको हो ।

सहरी विकास मन्त्रालयले सडक, नदी नियन्त्रण, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपणका लागि बजेट विनियोजन गरेको, अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया सुरु गर्ने र प्रभावित क्षेत्रको बासिन्दाका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने प्रतिबद्धता जनाएको छ ।

काठमाण्डौ महानगरपालिकाले उपत्यकामा उत्पादन हुने फाेहरलाई आउन साउन एक गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने प्रतिबद्धता जनाएको छ । १० दिनभित्र रासायनिक र जैविक उपचार गरी दुर्गन्ध हटाउने प्रतिबद्धता पनि महानगरले जनाएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने प्रतिबद्धता पनि काठमाण्डौ महानगरले जनाएको छ । फाेहर विसर्जनमा ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाले सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाण्डौ उपत्यकामा लामो समयदेखि फाेहर  नियमित नउठ्दा दुर्गन्धित बनेको छ ।  आजदेखि फाेहर उठ्न थाले पनि  पूरै उठाइसक्न भने केही दिन लाग्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया