४ वर्षमा ६ कराेड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति कमाउने सुब्बाविरुद्ध मुद्दा दायर

 असार ३, २०७९ शुक्रबार १७:४०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध ६ करोड रुपैयाँभन्दा धेरै बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीमाथि ६ करोड २४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित आज शुक्रवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

भण्डारी २०७३ साल असोज २१ देखि २०७७ साउन १ गतेसम्म मात्रै सरकारी सेवामा हुनुहुन्थ्याे । नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको जागिरको अवधिमा उहाँले २६ लाख ६१ हजार रुपैयाँ आर्जन गर्नुभएकाे थियाे । तर उहाँको खर्च र लगानीतर्फ (जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) सहित ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चय कोषबाट लिएको ऋण र जागिर सुरु हुनुभन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानुनसम्मत आर्जन गरेको दाबी गर्नुभएकाे थियाे । तर अख्तियारले त्यो दाबीलाई स्वीकार गरेन र ६ करोड २४ लाख ६५ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्ष निकालेको हाे ।  

विशेष अदालतमा दायर मुद्दामा अख्तियारले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ । भण्डारीकाे सम्पत्तितर्फ ६ करोड ६ लाख ४१ हजार आठ सय १३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार रुपैयाँ उहाँको एकल स्वामित्वमा रहेको कम्पनीबाट जफत गर्न माग गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया