काठमाडौंमा ‘जनयुद्ध जारी छ’

 असोज ६, २०७५ शनिबार १२:३५:३१ | उज्यालो सहकर्मी

काठमाडौं – स्कुल पढ्दै गरेका एक बालकलाई जनमुक्ति सेनाको शिविरमा ल्याइयो र  नाम सफल राखियो ।

पढ्दै र बा आमालाई सघाउँदै गरेका अनि बा आमाको एकमात्र सहारा बनेका युवालाई पनि जनयुद्ध लड्नको लागि शिविरमा ल्याइयो र नाम अग्नि राखियो । 

बाआमाको काखबाट खोसेर युद्धमा ल्याइएका बालक र युवालाई युद्धको जोश भरियो । सामन्तवादको युग समाप्त भएर देशमा गरिब निमुखाको शासन आउने आशा देखाइयो । सुरु सुरुमा युद्ध भन्दाबित्तिकै डराउने उनीहरु केही समयपछि युद्धको  मोर्चामा अग्रपंक्तिमा जान थाले । उनीहरुलाई पूर्ण विश्वास थियो, युद्धले नै सामन्तीहरुलाई तह लगाउनेछ र देशमा सबै नागरिकलाई हित हुने नयाँ शासन व्यवस्था आउनेछ । 

जनयुद्धमा जोशमा लडिरहेका अग्निको घरमा भने चित्कार मात्रै छ । हरेक दिन सरकारी सेना आएर ‘तँ माओवादीको बाउ हैनस’ भन्दै यातना दिन्छन् । आमालाई पनि ‘हत्याराकी आमा’ भन्छन् । 

आफ्नो छोरा हत्यारा हुनै नसक्ने आमाको दावी छ, छोरा नयाँ सत्ता ल्याउन युद्धमा होमिएको बाबुको विश्वास छ । 

बटालियनकै सबैभन्दा उम्दो जनसेना भएर निस्किएको अग्निका बुबालाई सरकारी सेनाले मारिदिन्छन् । आमा चाँहि छोराकै पीरले थलिँदै गएर प्राण त्याग्छिन् ।

देशको शासन व्यवस्था नै बदल्न हिँडेका अग्नि  र सफल जस्ता हजारौं जनसेनाको पनि विचल्ली हुन थाल्छ । वर्षौँसम्म युद्ध लडेका उनीहरुलाई अयोग्यको दर्जामा राखिन्छ । कमान्डरहरु नै धोकोबाज भएर निस्कन्छन् । जताजतै कुर्सीको लोभ मात्रै देखिन्छ । ज्यान हत्केलामा राखेर लडेकाहरु समाजबाट पनि अपहेलित अनि आफ्नै नेताहरुबाट पनि टाढिन्छन् । 

युद्धका क्रममा अन्तिम श्वास रहुञ्जेल पनि लडाईँ जारी राख्ने प्रण गरेका जनसेनाहरु एकछाक खानको लागि संघर्ष गरिरहनुपरेको छ । शासन व्यववस्था फेरिए पनि जनताका दुःख  ज्यूँ का त्यूँ छन् । 

माओवादीको जनयुद्धका सफल र असफल कथालाई बुनेर निर्देशक राज शाहले रंगमञ्चमा उतारेको कथा हो यो । 

शुक्रबारदेखि असोज २१ गतेसम्म कालिकास्थानको सर्वनाम नाटकघरमा मञ्चन हुने नाटक ‘जनयुद्ध जारी छ’ मा लेखन तथा निर्देशन गरेका शाहले जनयुद्धलाई टपक्कै टिपेका छन् । युद्धको जोश, जाँगर, चित्कार, सरकारी र विद्रोही सेनाका घरपरिवारले पाएका दुःख, युद्धको अवस्था र युद्धपछिको धोकालाई प्रष्ट रुपमा प्रस्तुत गरिएको छ ।

दर्जनौ बैशाखीलाई बन्दुकको रुपमा प्रयोग गरेर बनाइएको मञ्चले पनि नाटकलाई थप सशक्त बनाएको छ ।  झण्डै एक घन्टा अवधिको नाटकले जनयुद्ध लडेका सेनाको अवस्था र उनीहरुको सपना कसरी चकनाचुर भयो भन्ने विषय उठाइएको निर्देशक शाहले बताए । 

‘मैले धेरै पूर्व जनमुक्ति सेनालाई भेटेँ,उनीहरु जुन सपना लिएर युद्धमा होमिएका थिए, त्यो पटक्कै पूरा नभएको बताए, कुनै न कुनै हिसाबले समाजमा जनयुद्ध जारी रहेको कुरा बताएका थिए, त्यसैले मैले यो नाटकमा उनीहरुको भोगाई देखाउने प्रयास गरेको छु’, निर्देशक शाहले भने, ‘केहीले त जनयुद्ध बिर्सने बेला भयो, केहीले बिर्सिसके, तर जनयुद्ध लडेकाहरुले भने कहिल्यै बिर्सन्नन् र उनीहरुको दुःख जहाँको त्यहीँ छ भन्ने कुरालाई नाटकमा देखाउन खोजिएको छ ।’

तस्बिर सौजन्य : गोपाल साउद


 

अन्तिम अपडेट: चैत ६, २०८०

1 Comments

  • Aashish Basnyat

    Sept. 23, 2018, 2:33 p.m.

    'जनयुद्ध जारी छ ?' नाटकको नाम 'जनयुद्ध जारी छ?' हुनुपर्ने हो, तर हजुरहरुको समाचारमा प्रश्न चिन्ह रहेनछ । यसलाई सच्याइयोस । धन्यवाद ।

  •  0 Reply

तपाईको प्रतिक्रिया