भरतपुरमा सिँचाइ नभएर जग्गा बाँझो राख्नु पर्दैन : रेनु दाहाल

 असार १५, २०७९ बुधबार १७:४६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

धान दिवसको अवसरमा राेपाइँ गर्दै मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा सिँचाइ नभएर जग्गा बाँझो राख्न नपर्ने बताउनुभएको छ ।

आज बुधवार १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा महानगरको आयोजना तथा त्रिपुरेश्वर कृषि सहकारी भरतपुर ९ को सहआयोजनामा भएको कार्यक्रममा मेयर दाहालले यस्ताे बताउनुभएको हो । उहाँले नारायणी लिफ्ट सिँचाइ आयोजना कार्यालयमा झन्डै ३५ करोड रुपैयाँको यन्त्र, उपकरणहरू आइपुगेकाले अब भरतपुरका सबैजस्तो ठाँउमा सिँचाइको पहुँच पुग्ने उल्लेख गर्नुभयो ।

‘किसानलाई डिप बोरिङ वितरण गरेका छौँ’, उहाँले भन्नुभयो, ‘स्याबो टुबवेल पनि धेरै ठाँउमा जडान भएको छ । अब सिँचाइको कुनै चिन्ता छैन ।’

महानगरले कृषिलाई प्राथमिकतामा राखेर कृषिमा ब्याज अनुदान कार्यक्रम, गोठ सुधार कार्यक्रम, विभिन्न यन्त्र, उपकरणमा अनुदान लगायतको कार्यक्रमहरू गर्दै आइरहेको मेयर दाहालले जानकारी दिनुभयो । कृषिलाई प्राथमिकता दिएकै कारण सङ्घीय सरकार, प्रदेश सरकार र पालिकामै नभएको दूधमा तीन रुपैयाँ अनुदान कार्यक्रम सुरु गएको उहाँको भनाइ थियो ।

यसैबीच मेयर दाहालले असार १५ कै अवसरमा भरतपुर ६ इन्द्रपुरीमा एउटा डिप बोरिङ र भरतपुर १५ मा ३० वटा स्याबो टुबवेलको उद्घाटन गर्नुभएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले यो आर्थिक वर्षमा मात्रै डिप बोरिङ ३० वटा र स्यालो टुबवेल एक सय ८५ वटा सञ्चालनमा ल्याइसकेको छ । आयोजनाका प्रमुख देवकुमार स्याङबोका अनुसार डिप बोरिङले ३० बिघा जग्गालाई सिँचाइ गर्न सक्छ भने स्यालो टुबवेलले चार बिघा जग्गालाई सिँचाइ गर्दछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया