बाजुराको बूढीगङ्गामा जनप्रतिनिधि चुन्न मतदान सुरु : मतदान शान्तिपूर्ण रुपमा चल्दै

 असार २३, २०७९ बिहिबार ८:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाजुराको बूढीगङ्गा नगरपालिकामा जनप्रतिनिधि चुन्न बिहान ७ बजेदेखि मतदान सुरु भएकाे छ । मतदान बेलुका ५ बजेसम्म चल्नेछ । अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

१० वटा मतदानस्थल र १९ वटा केन्द्र रहेको बूढीगङ्गामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वटा वडा रहेको नगरपालिकाको मतदाता सङ्ख्या झन्डै १३ हजार रहेको छ ।

नगरपालिकाको मेयर पदमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रङ्गबहादुर खाती उम्मेदवार हुनुहुन्छ । गएको वैशाख ३० गते भएको पालिका चुनावबाट ७ सय ५३ पालिकामध्ये बूढीगङ्गाबाहेक अरु सबै पालिकामा जनप्रतिनिधि चुनिएका छन् । 

तस्बिर : रामबहादुर बानियाँ फेसबुक

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया