व्यापार घाटा बढ्नुमा रेमिट्यान्सकाे पनि भूमिका : अध्ययन

 असार २३, २०७९ बिहिबार १७:३५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – व्यापार घाटा बढ्नुमा रेमिट्यान्सकाे पनि भूमिका रहेकाे एक अध्ययन प्रतिवेदनले देखाएको छ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । 

आज बिहीवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सिबिफिनले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा नै रहेको बताएको छ । रेमिट्यान्सले बैंकमा निक्षेप बढाएको र बैंकले कर्जा लगानीको हिसाबले व्यापार घाटा बढाएको अध्ययनमा देखाएको छ । व्यापार घाटाको सम्बन्ध रेमिट्यान्ससँग ७५ प्रतिशत, बैंकको कर्जामा ८५ प्रतिशत र निक्षेप र रेमिट्यान्सको अन्तरसम्बन्ध ८३ प्रतिशत रहेको देखाएको हो । 

प्रतिवेदन सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्राध्यापक डा. रमेश पौडेलले रेमिट्यान्सलाई लामो समयसम्म होल्ड गर्न र बैंकहरूको कर्जा लगानी गर्ने क्षेत्र छुट्याउनुपर्ने देखिएको बताउनुभयो । उहाँले अध्ययन गर्दा नेपालको उत्पादन क्षेत्रमा सन् १९९६ सम्म उच्च वृद्धि भएको देखिएको बताउनुभयो । डा. पौडेलले उच्च वृद्धि हुन लागेको अवस्थाको पछि १० वर्षे जनयुद्धको कारण लगानीकर्ताले उद्योगमा भन्दा सेवा क्षेत्रमा बढी प्राथमिकता दिएको बताउनुभयो । नीति निर्माणमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने र त्यहीअनुसार नीति बनाउने हो भने मात्रै समस्या समाधान हुने उहाँकाे भनाइ छ । 

त्यस्तै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नेपालको अर्थतन्त्र तत्काल श्रीलङ्काको अवस्थामा नपुग्ने दाबी गर्नुभयो । उहाँले नेपालमा विगतमा आर्थिक गतिविधि ठप्प हुँदा समेत तलमाथि नभएको अर्थतन्त्र भएकाले तत्काल डराउनुपर्ने अवस्था नभएको उहाँकाे तर्क छ । नेपालले १० वर्षे जनयुद्ध, भूकम्प, नाकाबन्दी र कोभिडसमेत भोगेर अर्थतन्त्र तङ्ग्रँदै आएकाले अब नीतिहरू परिमार्जन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष पौडेलले बैंकहरूले घरेलु तथा साना उद्योगमा लगानी बढाउनुपर्ने बताउनुभयो । सरकारले पनि साना तथा मझौला उद्योगमा लगानी गर्दा सुरक्षा खोज्न नहुने उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया