माओवादीकाे वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ पक्काजस्तै

 असार २३, २०७९ बिहिबार १८:४७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – गएको पुसमा महाधिवेशन सम्पन्न भए पनि नेकपा माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन । 

काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुङ्गो लगाउने अनुमान गरिए पनि पदाधिकारीको विषयमा बैठकले निर्णय गर्न असफल भयो । आकाङ्क्षी धेरै भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नाम टुङ्गो लगाउन निकै मुस्किल परेको देखिएको छ । 

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने पक्काजस्तै भएको प्रचण्डले आजको बैठकमा बताउनुभएको छ । वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर महराले दाबी छाडेको र मातृका यादवको दाबीलाई स्वाभाविक रूपमा लिएर नारायणकाजीलाई नियुक्त गर्नुको विकल्प नरहेको प्रचण्डको भनाइ थियो । आजको बैठकमा उहाँले सबैको अनुहार उज्यालो हुने गरी केही दिनमै पदाधिकारीको नाम घोषणा गर्ने दाबी गर्नुभयाे । 

यसैबीच नेकपा माओवादी केन्द्रको स्थायी कमिटी ४१ सदस्यीय हुने भएको छ ।बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीका सदस्यको एक तिहाइसम्म स्थायी कमिटी सदस्य बनाउन सकिने विधानमा भएको व्यवस्थाअनुसार ४१ सदस्यीय स्थायी कमिटी हुने जानकारी दिनुभयो ।

उहाँले यसअघि नै सदस्य रहेका १५ जनाको नाम वाचन गर्नुभएको छ । बाँकीको नाम छिटै टुङ्गो लगाउने उहाँको भनाइ छ । प्रचण्डले आफूसहित नारायणणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत र हरिबोल गजुरेलको नाम टुङ्गिएको र बाँकीको पनि चाँडै टुङ्ग्याउने बताउनुभयो । 

यसैबीच माओवादीको पोलिटब्युरो कमिटी एक सय ५६ सदस्यीय हुने भएको छ । बैठकमा अध्यक्ष प्रचण्डले यसअघि एक सय २५ जनाको नाम वाचन गर्नुभएको थियो । तर पार्टीमा लामो समय योगदान गरेका नेताहरूको नाम पोलिटब्युरोमा समावेश नभएको भन्दै विरोध भएपछि प्रचण्डले एक सय २५ जना पोलिटब्युरो सदस्य रहने र बाँकी ३१ जना वैकल्पिक सदस्यको रूपमा रहने भन्दै विवाद मिलाउनुभएको छ । उहाँले सिनियर नेता पूर्ण पोलिब्युरो र जुनियर नेता वैकल्पिक पोलिटब्युरो सदस्य हुने जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया