देश छाड्न लागेका श्रीलङ्काका पूर्व अर्थमन्त्रीलाई कर्मचारीले विमानस्थलबाटै फर्काए

 असार २८, २०७९ मंगलबार १४:५१:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

देश छाड्न लागेका श्रीलङ्काका पूर्व अर्थमन्त्री बासिल राजपक्षेलाई अध्यागमनका कर्मचारीले विमानस्थलबाटै फर्काएका छन् । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेका कान्छा भाइसमेत रहेका बासिल राजापाक्षे दुबई हुँदै अमेरिकाको वाशिङ्टन जानका लागि कोलम्बो विमानस्थल पुग्नुभएको थियो तर विमानस्थलका कर्मचारीले उहाँको देश छाड्ने योजना असफल बनाइदिएका बीबीसीले जनाएको छ । 

देशलाई आर्थिक रूपमा टाट पल्टाएर आफू विदेश जान थालेको भन्दै कर्मचारी र विमानस्थल पुगेका अन्य यात्रुले पूर्व अर्थमन्त्रीको विरोध पनि गरेका छन् । देश चरम आर्थिक सङ्कटमा पर्न थालेपछि गएको अप्रिल महिनामा उहाँले राजीनामा दिनुभएको थियो । श्रीलङ्काका राष्ट्रपतिका सबै दाजुभाइ देशका प्रमुख पदमा हुनुहुन्छ । गाेटाबाया राजपक्षे राष्ट्रपति हुनुहुन्छ, महिन्दा राजपक्षे यसअघि प्रधानमन्त्री हुनुहुन्थ्यो, बासिल राजपक्षे महिन्दा राजपक्षे प्रधानमन्त्री हुँदा अर्थमन्त्री हुनुहुन्थ्यो । 

बासिल राजापाक्षेसँग अमेरिकाको पनि नागरिकता रहेको छ तर उहाँलाई पदमा ल्याउनका लागि कानुन नै परिवर्तन भएको थियो । बासिलमाथि सन् २०१५ मा भ्रष्टाचारको समेत आरोप लागेको थियो । श्रीलङ्कामा प्रदर्शनकारीले गएको शनिवारदेखि राष्ट्रपतिको भवन कब्जा गरेर बसेका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया