विश्व कप क्रिकेट लिग–२ मा स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

 असार ३०, २०७९ बिहिबार ६:२५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जित निकालेको छ । त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको हो ।

यो खेलमा ओपनर आसिफ शेख र तीव्र गतिका बलरले राम्रो प्रदर्शन गरेपछि नेपालले पहिलो पटक स्कटल्यान्डलाई हरायो । यसअघि नेपालले एक दिवसीय र टी–२० खेलमा स्कटल्यान्डलाई हराउन सकेको थिएन।

हिजो भएको खेलमा जितका लागि पाएको १ सय ४५ रनको लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । यो जितसँगै नेपाल अङ्क तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै रोहित पौडेल ३४ रनमा अविजित रहे । कुशल भुर्तेल २७, देव खनाल ४, दीपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए ।

स्कटल्यान्डका गेभिन मेनले तीन विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ४२ ओभर ५ बलमा १ सय ४४ रनमा अलआउट भयो ।

स्कटल्यान्डका गेभिन मेन ६४ रनमा अविजित रहे । यो उनको पहिलो अर्धशतक समेत हो । नेपालका सोमपाल कामी र आदिल अन्सारीले समान ३/३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा दीपेन्द्रसिंह ऐरी र करण केसीले १/१ विकेट लिए ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालले पर्सि नामिबिया र आइतवार स्कटल्यान्डसँग खेल्नेछ । अङ्क तालिकामा नेपाल १८ खेलमा ८ मा जित, ९ मा हार र एकमा बराबरीसहित १७ अङ्ककासाथ पाँचौँ स्थानमा रहेको छ ।

समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाव्बेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछ । शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।

तस्बिर : क्यान 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया