कांग्रेस नेतृत्वको सरकार छाडेर आए बामपन्थी दलसँग एकता हुनसक्छ : एमाले अध्यक्ष ओली

 असार ३२, २०७९ शनिबार २१:५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन बामपन्थी राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ । 

शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बामपन्थी एकताका लागि ओलीलाई आग्रह गर्नुभएको थियो । त्यसको जवाफ दिँदै ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै बामपन्थी दलहरुबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने बताउनु भएकाे हाे ।

अध्यक्ष ओलीले कम्युनिस्ट नेतृत्वको सरकार ढालेर हिँडनेहरु बामपन्थी हुनै नसक्ने जिकीर गर्दै यदि छन् भने एकताका लागि आफू तयार रहेको पटकपटक बताउनु भयो । उहाँले कांग्रेसलाई छोडेर बाम एकताका लागि आउने हो भने आफूले देशको हितमा काम गर्ने सरकार बनाउन चाहेको पनि बताउनु भयो ।

ओलीले नेपालको इतिहासमै सबैभन्दा बढी देशको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो ।

२००७ सालदेखि २०१२ सालसम्म पनि नेपालको राष्ट्रियतामाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उहाँले त्यसयता वर्तमान कांग्रेस नेतृत्वको सरकारले पनि देशको राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाउनु भयो । 

तथ्य र प्रमाणहरु आफूसँग भएको उल्लेख गर्दै ओलीले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटक नै सरकारको नेतृत्व छोडनु परेको गुनासो समेत गर्नु भयो ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया