न्यायिक र विधायन समिति गठनकाे विवादले तिलोत्तमा नगरपालिकाको बजेट पारित भएन

 साउन २, २०७९ सोमबार १३:४०:२० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - न्यायिक समिति र विधायन समिति गठन सम्बन्धी विवाद चर्किएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट नै पारित हुन सकेको छैन ।

बजेट पारित हुननसकेपछि वडा कार्यालयहरुबाट सङ्कलन हुने राजश्व प्रभावित भएको छ। असार १० गते तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको थियो । संविधानमा उपमेयरको संयोजकत्वमा न्यायिक समिति बन्ने प्रावधान छ । विधायन समितिमा भने सत्तापक्षको नेतृत्व रहने अभ्यास छ। 

तिलोत्तमा नगरपालिकामा उपमेयरमा एमालेकी जागेश्वरीदेवि चौधरी निर्वाचित हुनुभएको थियाे । मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी बन्नुभएको थियाे । न्यायिक समितिमा कांग्रेसले एक जना सदस्य दाबी गरेको छ भने विधायन समितिमा नेतृत्व गर्न पाउनु पर्ने बताएको छ । तर एमाले भने दुवै अवस्थाको लागि तयार नदेखिएपछि विवादको असर बजेटमा परेको छ । कांग्रेसले पहिला बजेट पारित गरेर समिति गठन गर्ने पक्षमा छ भने एमालेले बजेट र समिति संँगसँगै गरौँ भनिरहेको छ । 

८९ सदस्यीय नगर सभामा ४८ जना एमालेका र ४१ जना कांग्रेसका सदस्य रहेका छन् । एमालेले बहुमतका आधारमा निर्णय गर्न माग गरेको छ । तर कांग्रेस भने यसका लागि तयार छैन । संविधानले स्थानीय सरकारमा सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नगरेकाले विवादको अर्थ नरहेको तिलोत्तमाका मेयर समेत रहेका रुपन्देही कांग्रेसका सभापति खाणले बताउनु भयो । उहाँले बजेट पारित गर्न नदिएर एमालेले जनभावना विपरीतको काम गरेको बताउनु भयो । 

एमालेबाट निर्वाचित कार्यपालिका सदस्य सुरेन्द्र श्रीले विधि र प्रक्रिया मिचेर नगरका मेयर र प्रमुख प्रशासकीय अधिकृतले सशरीर उपस्थितिलाई अस्वीकार गर्दै गणपुरक सङ्ख्या नपुगेको भन्दै नगर सभा स्थगित गरेका कारण विवाद उत्पन्न भएको बताउनु भयो । उहाँले संवादमार्फत अवस्थालाई सामान्य बनाएर नगर सभा सञ्चालन गर्ने विषयमा एमाले प्रतिबद्ध रहेको बताउनु भयो । विवाद बढ्दै गएपछि आइतवार धेकलाधकेल र नाराबाजी भएको थियो । एकलौटी ढङ्गबाट नगर सभा सञ्चालन गर्न खोजेको भन्दै एमालेका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई घेरेका थिए । 

घेराउकै बीचबाट प्रहरीले ज्ञवालीलाई सुरक्षा दिनुपरेको र त्यही क्रममा वडा नम्बर ४ का अध्यक्ष हरि क्षेत्रीलाई प्रहरीले धकेल्दा स्विमिङ्ग पुलमा खसेको भिडियो सार्वजनिक भएको थियो । नगरका मेयर खाण सोमवार बिहान क्षेत्रीकै घरमा पुगेर भेट्नु भएको थियो । उपमेयर जागेश्वरी देवि चौधरीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले कांग्रेसको पक्षमा काम गरेको आरोप लगाउनु भएको छ ।

चौधरीले पनि ज्ञवालीलाई तँ तँ भन्दै गाली नै गरेको भिडियोमा देखिन्छ । शुक्रवारको नगर सभा बैठकमा उपस्थित हुनु भएकी उपमेयर चौधरीले ३ घण्टा माइन्यूट नै कब्जा गरेको कांग्रेसको आरोप छ । एमालेले भने फर्जी माइन्यूट तयार गरेर नगरका मेयरले नगर सभा स्थगित गरिरहेको आरोप लगाएको छ। 

अन्तिम अपडेट: बैशाख २, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया