सप्तकोसीको भङ्गालो फुटेर बस्तीमा पस्दा झन्डै १५ सय घरपरिवार प्रभावित, खाद्यान्नबालीमा क्षति

 साउन १९, २०७९ बिहीबार ६:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सप्तकोसी नदीको भङ्गालो फुटेर बस्तीमा पस्दा झन्डै १५ सय घरपरिवार प्रभावित भएका छन् ।

हिजो बिहान सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका झन्डै १५ सय घरपरिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको तर धान, मकैलगायतका खेतीबालीमा क्षति पुगेको छ । बाढीबाट प्रभावित परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।

उद्धार गरिएका नागरिकको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाइएको पनि उहाँको भनाइ छ । हिजो बिहान बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै सिसौली टप्पु–चिलिया बस्तीतर्फ पस्न सुरु गरेको थियो ।

बेलका नगरपालिका मेयर अशोक कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाहरुबीचको बैठक बसेर बेलका र बराहक्षेत्र नगरपालिकाका मेयरको संयोजकत्वमा खोज, राहत तथा पुनर्स्थापना समिति गठन गर्ने निर्णय समेत भएको छ ।

बैठकले नदीले पुर्याएको तथा पुर्याउन सक्ने थप क्षतिबारे आधिकारिक सूचना सम्प्रेषण गर्न सूचना संयन्त्र निर्माण गर्ने पनि निर्णय गरेको छ ।  सप्तरीकाे सप्तकोसी र कञ्चनरुप नगरपालिकाका प्रभावित हुनसक्ने  वडाका बासिन्दालाई सतर्क गराइएको छ।

बाढी प्रभावितको आश्रयस्थलका लागि बेलका नगरपालिकाको वडा नम्बर–९ धौरीमा ५ सय घरपरिवार, वडा नम्बर–८ को एकता, चिलिया, दुर्गा मन्दिर टोलमा ५ सय घरपरिवार, वडा नम्बर–३ बुधबारे, शुक्रबारेमा ५ सय घरपरिवार, वडा नम्बर–३ बानडाँडा, रामनगर, नारायणपुरमा, शिवालय मन्दिर, लालभित्त, भागलपुरमा ८ सय घरधुरीका लागि आश्रयस्थल बनाउने निर्णय भएको छ।

बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न नमानेका र थप क्षति हुनसक्ने भन्दै जिल्ला प्रशासनले सबै नागरिकलाई सुरक्षित ठाउँतर्फ जान पनि अनुरोध गरेको छ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया